काठमाडौँ। अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकका कारण त्रिभुवन विश्वविद्यालयलाई करिब २ अर्ब रुपैयाँ नोक्सानी भएको तथ्य सार्वजनिक भएको छ।
छानबिन समितिको अध्ययन अनुसार ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेका छन्। तीमध्ये १९१ जना बिदा सकिएपछि नफर्किएका छन् भने २०७ जनाले अध्ययन पूरा नै गरेका छैनन्। यसले विश्वविद्यालयलाई आर्थिक मात्रै होइन, शैक्षिक र नैतिक क्षति पनि पुगेको देखिएको छ।
त्रिविको नियमअनुसार अध्ययन बिदा लिएपछि सोही अवधिअनुसार विश्वविद्यालयमा सेवा गर्नुपर्ने हुन्छ। नफर्किएमा तलबभत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने व्यवस्था छ।
छानबिनपछि त्रिविले रकम असुली प्रक्रिया अघि बढाएको छ। हालसम्म २० जनाबाट करिब ६ करोड रुपैयाँ फिर्ता भइसकेको छ भने ५० भन्दा बढी प्राध्यापक रकम फिर्ता गर्ने प्रक्रियामा छन्।
प्राध्यापकहरू अध्ययन बिदामा विदेश गएपछि अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत देशमै बस्ने प्रवृत्ति देखिएको छ। यसका कारण त्रिविले अस्थायी र करार शिक्षक राख्नुपर्दा थप आर्थिक भार पनि बढेको छ।
त्रिविले अब कडाइ गर्ने संकेत दिएको छ। तोकिएको समयभित्र रकम नबुझाउनेको नाम सार्वजनिक गर्ने र कानुनी कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
सरकारले पनि यस विषयमा चासो देखाएको छ। प्रधानमन्त्री र शिक्षामन्त्रीको स्तरबाट छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
छानबिन जारी रहेकाले दुरुपयोग गर्नेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।





























प्रतिक्रिया