आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न

आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। आप्रवासनसम्बन्धी तीनदिने पत्रकारिता कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।

कार्यशालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव पिताम्बर घिमिरेले आप्रवासन नीति, यसको कार्यान्वयन तथा देखिएका चुनौतीबारे कार्यपत्र प्रस्तुत गरे । उनले वैदेशिक रोजगारका कारण नेपालमा आप्रवासन संस्कृतिको विस्तार भइरहेको उल्लेख गर्दै यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन थप प्रयास आवश्यक रहेको बताए ।

जनसङ्ख्याविद् प्रा.डा. योगेन्द्रबहादुर गुरुङले नेपालको जनगणना प्रक्रिया र आप्रवासनको अवस्थाबारे प्रस्तुति दिएका थिए । त्यस्तै मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदीले आप्रवासन नीति, श्रम ऐन तथा रोजगार अधिकारबारे जानकारी दिँदै कानुनी ज्ञानको कमी र व्यवहारिक जटिलताका कारण कार्यान्वयन प्रभावकारी हुन नसकेको बताए ।

कार्यशालामा आईओएम क्षेत्रीय कार्यालय (एसिया–प्रशान्त) थाइल्यान्डका प्रतिनिधि मिको अलाजले भर्चुअल माध्यमबाट एसियाको आप्रवासन प्रवृत्तिबारे जानकारी गराए भने डा. यु यिप चिङ (एनि) ले भिडियो प्रस्तुति मार्फत क्षेत्रीय अवस्थाबारे धारणा राखे । नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले आप्रवासनसम्बन्धी समाचार लेखनमा अपनाउनुपर्ने संवेदनशीलता र जिम्मेवारीबारे पत्रकारहरूलाई सुझाव दिइन् ।

यसैबीच, कार्यशालामा असोक राईले तथ्याङ्क सुरक्षा र गोपनीयताबारे तथा जनकराज भट्टले मिडियामा आप्रवासनसम्बन्धी समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने संवेदनशील पक्षबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

Skip This
Skip This
Logo