जीर्ण फलेवास नहर- टालटुलले धानेन सिँचाई किसान चिन्तित

जीर्ण फलेवास नहर- टालटुलले धानेन सिँचाई किसान चिन्तित

केन्द्रबिन्दु
15
Shares

साजन परियार, पर्वत। वर्षौंदेखि जिर्ण अवस्थामा रहेको सिँचाई नहरका कारण किसानहरू समस्यामा परेका छन् । खेतीयोग्य जमिनमा पानी नपुग्दा उत्पादन घट्दै गएको छ भने हरेक वर्ष आउने बजेटले नहरको दिगो सुधार हुन सकेको छैन । नहर निकै पुरानो भइसकेको छ । मुख्य नहर मात्र होइन यसका अधिकांश शाखा नहरहरू पनि जीर्ण अवस्थामा छन् । कतै भत्किएका छन् भने कतै पहिरोले पुरै बन्द भएको छ । जसका कारण नहरबाट पानी खेतसम्म पुग्नै गाह्रो हुन्छ ।

वि।सं २०४१ सालमा निर्माण भएपश्चात नहर पूर्ण रूपमा मर्मत हुन सकेको छैन । नहरको लम्बाइ ७ किलोमिटर छ । नहरलाई फलेवास शाखा र माटेदवल शाखा गरी दुई शाखामा विभाजन गरिएको छ । उक्त शाखा पनि एक–एक किलोमिटरका छन् । शाखा नहर पनि मर्मत नहुँदा जीर्ण अवस्थामा छन् । नहरमा बग्ने पानीको सतह वर्षेनी घट्दै जाँदा किसानहरू समस्यामा परेका छन् ।

‘नहरमा पानी नआउँदा धान रोप्नै गाह्रो भयो, आकाशे पानीकै भरमा खेती धान्नु परेको छ,’ फलेवास–६ देविस्थानका राम पौडेल भन्छन्, ‘सिँचाइ मर्मत नहुँदा पानी पाइँदैन, बाली पनि घट्दै गयो । कतिपय खेत त बाँझै राख्नुपर्ने अवस्था छ । हिउँद–बर्खा तीनै खेती गर्ने ठाउँमा नहर नबन्दा हिउँदमा त खेती नै गर्न पाइँदैन । बजेट नहुँदा हरेक वर्ष हामी आफैंले पहिरो पन्छाउँदै नहर सफा गर्दै पानी ल्याउनुपरेको छ ।’

नहरको समस्या झन् जटिल बन्नुको अर्को कारण वर्षेनी जाने पहिरो हो । वर्षायाम सुरु भएसँगै नहरका विभिन्न स्थानमा पहिरो खस्ने र संरचना भत्किने क्रम दोहोरिने गरेको स्थानीय बताउँछन् । मर्मत गरिए पनि केही समयमै फेरि बिग्रने भएकाले समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन । ‘यो नहरको दुःख त वर्षैपिच्छे बढ्दै गएको छ,’ स्थानीय किसान गीता भुसाल भन्छिन्, ‘थोरै बजेट आउँछ, एक ठाउँमा बनायो भने अर्को ठाउँ फेरि भत्किन्छ । राज्यसँग दीर्घकालीन हिसाबले बनाउने योजना नै छैन जस्तो लाग्छ ।’ उनी थप्छिन्, ‘पानीको भरपर्दो व्यवस्था नहुँदा खेती गर्नै मुस्किल भयो, कतिपय बेला त खेत रोप्नै नपाई बाँझै राख्नुपर्छ । सरकारले समयमै राम्रोसँग बजेट दिएर नहर मर्मत गरिदिए यो अवस्था आउँदैनथ्यो । अहिले त आफ्नै बलमा टालटुल गरेर खेती धान्नुपर्ने बाध्यता छ ।’

योसँगै पानीको स्रोत पनि सुक्दै गएको छ । पछिल्ला वर्षहरूमा खोला र मुहानमा पानी घट्दै जाँदा नहरमा पर्याप्त पानी आउन छाडेको छ । “खेती गर्ने इच्छा भएर के गर्नु सिँचाई गर्न नपाएपछि ? नहर मर्मतका लागि हप्तौँ धाएर टालटुल पारेर पानी ल्यायो हप्ता दिन नहुँदै सुक्छ” खानीगाउँका बाबु तिवारीले दुखेसो पोखे । जलवायु परिवर्तन र वनक्षेत्रको ह्रासले पनि यसमा असर पारेको स्थानीयको भनाइ छ । नहर सुधारका लागि वर्षेनी बजेट आउने भए पनि त्यो अत्यन्त न्यून हुने गरेको छ । आएको बजेटले सामान्य मर्मतसम्भार मात्र हुने गरेको र दीर्घकालीन समाधानतर्फ ध्यान नदिइएको आरोप स्थानीयको छ । ‘हरेक वर्ष बजेट आएको सुनिन्छ, तर नहर उस्तै छ,’ अर्का एक किसानले भने ।

फलेवास जल उपभोक्ता समितिका सचिव किशोर रेग्मीका अनुसार नहर मर्मतका लागि आवश्यक बजेट नहुँदा समस्या झन् जटिल बन्दै गएको छ । गत आर्थिक वर्ष २०८१र०८२ मा नहर मर्मतका लागि ७० लाख रुपैयाँ बजेट आए पनि यस वर्ष घटेर मात्र १० लाख रुपैयाँमा सीमित भएको उनको भनाइ छ । ‘गत वर्ष आएको ७० लाख रुपैयाँले करिब ३ सय थान जाली भर्ने र ४५ मिटर वाल लगाउने काम गर्‍यौं, तर त्यो पनि पर्याप्त भएन, अझै थप काम गर्नुपर्ने देखिएको छ,’ रेग्मीले भने । उनका अनुसार यस वर्ष आएको १० लाख रुपैयाँबाट देविस्थानस्थित नगर अस्पताल नजिकको शाखा नहरमा मेसिनरी वाल लगाउने तयारी गरिएको छ ।

रेग्मीका अनुसार नहरलाई दीर्घकालीन रूपमा सुधार गर्न कम्तीमा ३ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ । ‘त्यो रकम उपलब्ध भए अझै करिब ५ किलोमिटर नहर आरसीसी गर्न पाएमा नहरको समस्या हट्ने थियो,’ उनले भने । हाल मुख्य नहरका स्ल्याबहरू जीर्ण भइसकेका छन् भने शाखा नहरहरूको अवस्था पनि उस्तै छ । माटोको कुलो भएका कारण पानी चुहिने समस्या व्यापक छ, जसले सिँचाइ प्रणालीलाई प्रभावहीन बनाउँदै लगेको छ । संघीय सरकारबाट थोरै मात्रामा बजेट आउने र स्थानीय तथा प्रदेश सरकारले पर्याप्त बजेट नदिएको उनको आरोप छ ।

उपभोक्ता समितिका सदस्य दुर्गादत्त तिवारीका अनुसार नहर मर्मत तथा व्यवस्थापनमा नगरपालिका र प्रदेश सरकारको पर्याप्त ध्यान पुग्न नसक्दा स्थानीय किसानहरू प्रत्यक्ष मारमा परेका छन् ।

सम्बन्धित निकायबीच आवश्यक समन्वयको अभाव, दीर्घकालीन तथा दिगो योजना नहुनु र प्रभावकारी अनुगमनको कमीका कारण नहर प्रणाली वर्षेनी कमजोर बन्दै गएको उनले बताए । वर्षायाममा पहिरो जाने, नहर भत्किने र समयमा मर्मत नहुँदा सिँचाइमा समस्या दोहोरिँदै आएको उनको भनाइ छ ।

तिवारीका अनुसार किसानहरूले दीर्घकालीन समाधानका लागि पक्की नहर निर्माण, पहिरो नियन्त्रणका ठोस उपाय, पानीका स्रोतहरूको संरक्षण तथा पर्याप्त बजेट विनियोजन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । ‘अहिलेको जस्तो अस्थायी कामले समस्या समाधान हुँदैन,’ उनले भने, ‘समयमै ठोस र दीर्घकालीन योजना लागू गरिएन भने सिँचाइ प्रणाली पूर्ण रूपमा ध्वस्त हुन सक्छ र त्यसले कृषि उत्पादनमा गम्भीर असर पार्नेछ ।’ उनले कृषि क्षेत्रलाई जोगाउन र किसानको भविष्य सुरक्षित गर्न सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

सिँचाइको समस्या समाधान नहुँदा कृषिमा निर्भर अधिकांश किसान प्रत्यक्ष मारमा परेका छन् । धान उत्पादनको पकेट क्षेत्रका रूपमा परिचित फलेवास क्षेत्रमा पछिल्ला वर्षहरूमा भने धान उत्पादन घट्दै जान थालेको छ । नहरबाट करिब ११०० घरधुरी लाभान्वित हुँदै आएका छन् ।

यहाँ धानसँगै आलु, गहुँ, तोरी, फापर र जौ जस्ता विभिन्न खाद्यान्न बाली उत्पादन हुँदै आएका छन् । यस नहरबाट २९६ हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ । लमायखोलाको मुहानबाट सुरु हुने फलेवास नहर जिल्लाकै सबैभन्दा ठूलो र लामो नहरका रूपमा चिनिन्छ । तर यसको नियमित मर्मत र संरक्षणतर्फ सम्बन्धित निकायको पर्याप्त ध्यान नपुग्दा किसानहरू समस्या भोग्न बाध्य छन् ।

Skip This
Skip This
Logo