नेपालगञ्ज। नेपालगञ्ज–२ स्थित हनुमानगढीमा निर्माण भइरहेको १०८ फिट अग्लो हनुमानको मूर्ति अहिले अन्तिम चरणमा पुगेको छ। करिब १४ करोड रुपैयाँ लागतमा बनिरहेको यो परियोजनाको काम झन्डै ९० प्रतिशत सकिएको छ।
२०७९ चैतमा सुरु भएको निर्माण कार्यको समय थपिँदै अहिले २०८३ असोजसम्म पुर्याइएको छ। निर्माण पक्षका अनुसार अब करिब डेढ महिनाभित्र मूर्ति तयार भएर हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ।
यो मूर्ति निर्माणको उद्देश्य धार्मिक पर्यटन प्रवर्द्धन गर्नु र भारतको अयोध्यासँग सांस्कृतिक सम्बन्ध जोड्नु रहेको जनाइएको छ। राम मन्दिर निर्माणपछि हनुमानगढीलाई पनि धार्मिक केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको हो।
स्थानीयका अनुसार यसले नेपालगञ्जको धार्मिक महत्व अझ बढाउनेछ र भक्तजनको आगमन पनि वृद्धि हुने अपेक्षा गरिएको छ। हनुमानगढी क्षेत्रमा प्रत्येक वर्ष हनुमान जयन्तीमा विशेष उत्सव पनि हुँदै आएको छ।
अहिले फाउन्डेसन र प्लेटफर्मको काम सकिएर मूर्तिको मुख्य संरचना निर्माण तीव्र गतिमा भइरहेको छ।




















