ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदीको परिमाण उल्लेख्य देखिएको छ । करिब दुई वर्षको अवधिमा मन्दिरमा चढाइएको सुनचाँदी संकलन गरी प्रशोधन (रिफाइन) गर्दा ठूलो परिमाणमा बहुमूल्य धातु प्राप्त भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार वि.सं. २०८० पुस २५ देखि २०८२ फागुन २५ गतेसम्म संकलित सुनचाँदी रिफाइन गरिएको हो। समितिका सूचना अधिकारी नविन निरौलाका अनुसार उक्त अवधिमा ६७ तोला सुन र ४३ किलोग्राम चाँदी संकलन भएको थियो ।
सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेका अनुसार ६७ तोला सुन प्रशोधन गर्दा ५० तोला ८५ लाल बराबरको चौबीस क्यारेट सुन (एक नम्बर) प्राप्त भएको छ । त्यस्तै, करिब ४३ किलोग्राम चाँदी रिफाइन गर्दा २ हजार ५४ तोला ३५ लाल बराबरको शुद्ध चाँदी उत्पादन भएको छ ।
यसअघि नै रिफाइन गरिएको १ सय ७८ तोला ८२ लाल सुनसमेत समितिले भण्डारणमा राखेको छ । यससँगै हालसम्म समितिसँग जम्मा २ सय २९ तोला ६७ लाल सुन र २ हजार ५४ तोला ३५ लाल चाँदी मौज्दात रहेको जिन्सी शाखा प्रमुख इन्द्र पौडेलले जानकारी दिए । उक्त सुनचाँदी विभिन्न सरोकारवालाको रोहबरमा शिलबन्दी गरी सुरक्षित राखिएको छ ।
समितिले यसअघि पटक–पटक लिलामीको प्रयास गरे पनि सुन बिक्री हुन सकेको छैन । पाँचौँ पटक सूचना जारी गर्दा समेत कसैको आवेदन नपरेको जनाइएको छ । तर, चाँदी भने चौथो पटकको सूचनापछि लिलामी भएको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार गत पुस २९ गते प्रतितोला ४ हजार ३ सय रुपैयाँका दरले ५ हजार २ सय ९८ तोला १२ लाल चाँदी बिक्री गरिएको थियो ।
लिलामीबाट प्राप्त रकम मन्दिरको संरक्षण तथा विकासमा खर्च गरिने समितिको योजना छ । पछिल्लो समय सुनको मूल्यमा भइरहेको उतारचढावका कारण लिलामीमा समस्या देखिएकाले नयाँ कार्यविधि तयार गरी पुनः बिक्री प्रक्रिया अघि बढाउने तयारी भइरहेको कार्यकारी निर्देशक हाङबाङले जानकारी दिए ।





























प्रतिक्रिया