‘म’ केन्द्रित राजनीतिले कम्युनिष्ट सकिए : विष्णु रिजाल

‘म’ केन्द्रित राजनीतिले कम्युनिष्ट सकिए : विष्णु रिजाल

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७ औं स्थापना दिवसका अवसरमा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी गम्भीर रक्षात्मक अवस्थामा पुगेको भन्दै नेतृत्व र संगठनभित्र आत्मसमीक्षाको आवश्यकता औंल्याएका छन्। सामाजिक सञ्जालमा धारणा राख्दै उनले २०४६ सालपछि कम्युनिष्ट आन्दोलन सबैभन्दा बढी संकट, बहस र कमजोर अवस्थाबाट गुज्रिएको उल्लेख गर्दै अहिलेको राजनीतिक स्थिति चिन्ताजनक भएको बताएका छन्।

रिजालका अनुसार एमाले र माओवादी केन्द्रबाट गरी छ जना प्रधानमन्त्री बनेको इतिहास हुँदाहुँदै पनि पार्टी अहिले प्रमुख प्रतिपक्षीको हैसियतसमेत गुमाउनु गम्भीर संकेत हो। उनले संगठनभित्र पराजित मनोविज्ञान, अव्यवस्थित संरचना, पुरानो चिन्तन र ‘म–केन्द्रित’ कार्यशैलीले पार्टी कमजोर बनेको टिप्पणी गरेका छन्।

उनले पार्टी पुनर्जीवनका लागि तीन प्रमुख प्रश्नको उत्तर खोज्नुपर्ने बताएका छन्—पहिलो, पार्टीलाई पुरानै प्रभावशाली अवस्थामा फर्काउन सकिन्छ कि सकिँदैन; दोस्रो, सुधार र परिवर्तनमार्फत नयाँ राजनीतिक आशा जगाउन सकिन्छ कि सकिँदैन; र तेस्रो, जेन–जी पुस्ताले बुझ्ने र स्वीकार गर्ने आधुनिक पार्टी बनाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न।

रिजालले समस्या बाह्य कारणमा मात्र नदेखी आन्तरिक कमजोरी स्वीकार गरेर सुधारको बाटो रोज्नुपर्ने चेतावनी दिएका छन्। उनका अनुसार दोष अरूमा थोपरेर मात्र पार्टी संकटबाट ननिस्कने भन्दै आत्मचिन्तन नै मुख्य बाटो हो।

Skip This
Skip This
Logo