जातीय विभेद मुद्दामा वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतद्वारा सदर

जातीय विभेद मुद्दामा वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतद्वारा सदर

केन्द्रबिन्दु
12
Shares

पोखरा। आफ्नै वडा सदस्यमाथि जातीय छुवाछूत गरेको अभियोगमा दोषी ठहर भएका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीविरुद्धको जिल्ला अदालतको फैसला उच्च अदालत पोखराले सदर गरेको छ।

अधिकारीले वडा सदस्य मैया नेपालीमाथि जातीय विभेद हुने गरी अपमानजनक शब्द प्रयोग गरेको भन्दै मुद्दा दायर गरिएको थियो। घटनापछि नेपालीले प्रहरीमा उजुरी दिएकी थिइन्।

कास्की जिल्ला अदालतले २०८० मंसिर ७ गते उनलाई ४ महिना १५ दिन कैद र ७५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सो फैसलाविरुद्ध अधिकारीले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

बुधबार न्यायाधीश अञ्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालतको फैसला नै कायम राख्ने निर्णय गरेको हो।

घटना २०७९ पुस १८ मा वडा कार्यालयमा लक्षित बजेट र तालिमसम्बन्धी छलफलका क्रममा भएको थियो। सोही क्रममा विवाद चर्किँदा वडाध्यक्षले अपमानजनक व्यवहार गरेको आरोप लागेको थियो।

प्रहरीले सुरुमा उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो भने पछि धरौटीमा रिहा गरिएको थियो।

अदालतले जातीय तथा अन्य सामाजिक छुवाछूत ऐनअनुसार सार्वजनिक पदमा रहेका व्यक्तिलाई थप सजाय हुने व्यवस्था लागू गर्दै फैसला गरेको हो। साथै पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनि दिइएको छ।

Logo