फलेवास नगर अस्पताल निर्माणले गति लियो

फलेवास नगर अस्पताल निर्माणले गति लियो

केन्द्रबिन्दु
15
Shares

पर्वत। फलेवास नगरपालिकामा निर्माणाधीन नगर अस्पतालको काम लामो समयपछि पुनः तीव्र गतिमा अघि बढेको छ। संघीय सरकारले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने कार्यक्रमअन्तर्गत सुरु गरिएको यो योजना विभिन्न अवरोधका कारण ढिलाइ हुँदै आएको थियो।

आर्थिक वर्ष २०७७/७८ मा सम्झौता भए पनि डीपीआर स्वीकृति, स्थान परिवर्तन, कानुनी जटिलता र बजेट अभावका कारण काम रोकिएको थियो। अहिले ती समस्या समाधान भएपछि निर्माण कार्य पुनः अघि बढेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका इन्जिनियर सञ्जय लामिछानेका अनुसार भवनको दुई तला ढलान भइसकेको छ र बाँकी संरचनात्मक तथा फिनिसिङको काम पनि धमाधम भइरहेको छ। भवनको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेकाले आगामी माघभित्र पूरा हुने अपेक्षा गरिएको छ।

फलेवास नगरपालिका–६ देवीस्थानमा निर्माण भइरहेको अस्पतालमा प्रशासनिक भवन, आकस्मिक कक्ष, आईसीयू, भेन्टिलेटर, एचडीयू, ओपीडी र जनरल वार्डसहित २२ कोठा रहनेछन्।

नगरप्रमुख गंगाधर तिवारीले विगतका अवरोध हटेर काम अघि बढ्नु सकारात्मक भएको बताए। “अब आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा बढेको छ,” उनले भने।

यसअघि डीपीआर बिना गरिएको निर्माण, अत्यधिक माटो कटान र स्थान परिवर्तनका कारण काम प्रभावित भएको थियो।

निर्माण सम्पन्न भएपछि १४ शैयाको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आउनेछ, जसले स्थानीयलाई सामान्य उपचारका लागि कुश्मा, बागलुङ वा पोखरा धाउनुपर्ने बाध्यता घटाउने अपेक्षा गरिएको छ। परियोजनाका लागि सरकारले १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको छ भने निर्माणको जिम्मा प्रतिष्ठा–जुम्ली–आचार्य जेभीले लिएको छ।

Logo