दशौँ पीएम कप एनभीए भलिबल लिग आजदेखि, पुरस्कार राशिमा वृद्धि

दशौँ पीएम कप एनभीए भलिबल लिग आजदेखि, पुरस्कार राशिमा वृद्धि

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ। प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा १० दिनसम्म सञ्चालन हुनेछ।

लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिन आधारमा खेलाइनेछ र शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि भिड्नेछन्।

पहिलो दिन चार खेल हुनेछन्। उद्घाटन खेल बिहान ८ बजे एपीएफ र त्रिभुवन आर्मीबीच हुनेछ भने त्यसपछि नेपाल पुलिस क्लब र एभरेष्ट क्लब आमनेसामने हुनेछन्। पुरुषतर्फ हेल्प नेपाल र बुढानिलकण्ठबीच तथा आर्मी र खिल्जी युवा क्लबबीच खेल हुने तालिका छ।

यसपटक प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ। पुरुष र महिलातर्फ विजेताले १० लाख रुपैयाँ, उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। यो एनभीए लिग इतिहासकै सबैभन्दा ठूलो पुरस्कार हो।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने अन्य उत्कृष्ट विधाका खेलाडी तथा प्रशिक्षकले ३०–३० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगितामा चार टोलीले विदेशी खेलाडी समावेश गरेका छन्। पुरुषतर्फ हेल्प नेपाल, रुकुम पश्चिम र खिल्जी युवा क्लब तथा महिलातर्फ एभरेष्ट क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका छन्।

लिगका उत्कृष्ट टोलीले सन् २०२६ मा हुने काभा क्लब च्याम्पियनसिपमा समेत स्थान बनाउने अवसर पाउनेछन्।

Logo