विदेशी ऋणमा किनिएका डोजर र बुटहरू आफ्नै नागरिकमाथि प्रयोग हुनु ‘राज्य आतंक’ -हर्क साम्पाङ

विदेशी ऋणमा किनिएका डोजर र बुटहरू आफ्नै नागरिकमाथि प्रयोग हुनु ‘राज्य आतंक’ -हर्क साम्पाङ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजर र प्रहरी परिचालनलाई ‘राज्य आतंक’ को संज्ञा दिँदै कडा आपत्ति जनाएका छन् ।

असली र नक्कली सुकुम्बासीको बहस गरेर मानिसको उठिबास लगाउनु अमानवीय भएको भन्दै उनले सरकारको यो कदम सफल नभई दमनकारी भएको टिप्पणी गरे ।

अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बजारको घर छोडेर कसैलाई पनि खोलाको किनार, भिरको डिल वा जंगलको छेउमा बसेर दुख गर्ने रहर नहुने बताए । “धनी र ठूला व्यापारीको संरक्षण गर्ने सरकारले गरिब, दुखी र निमुखाको आवाज सुन्नुपर्नेमा उल्टै डोजर र बन्दुक देखाएर तर्साउनु लोकतन्त्रको उपहास हो,” उनले भने ।

दशकौँदेखि बसोबास गरिरहेका नागरिकलाई विकल्प नदिई हटाउनु अन्यायपूर्ण भएको तर्क गर्दै साम्पाङले थपे, “विगतका सरकारले कुनै एक्सन लिन नसक्नुको अर्थ अहिलेकाले बिना व्यवस्थापन उठिबास लगाउनु होइन। दुई–अढाई हजार प्रहरीको फौज सुकुम्बासी बस्तीमा उतार्नुको साटो सिमाना मिचिँदा त्यहाँ गएर साहस देखाउन सरकारलाई चुनौती दिन्छु।”

उनले नागरिकलाई ‘नम्बरी’ र ‘ऐलानी’ जग्गाको आधारमा वर्गीकरण गरेर विभेद गरिएको भन्दै आक्रोश व्यक्त गरे । विदेशी ऋणमा किनिएका डोजर र बुटहरू आफ्नै निमुखा नागरिक विरुद्ध प्रयोग भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र अगाडि बढ्न सरकारलाई आग्रह गरे ।

विपक्षी दलको हैसियतले आफूहरूले जनताको पक्षमा आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष साम्पाङले भने, “सरकारले मानिसलाई पशु जस्तो व्यवहार गर्नु हुँदैन। आफ्नै देशका नागरिकलाई दलन र पेलन गर्ने कार्य तत्काल बन्द गरियोस्।”

Logo