‘पिच योर बिजनेस आइडिया- सिजन २’ का लागि आवेदन खुल्ला, युवा उद्यमीलाई विशेष प्लेटफर्म

‘पिच योर बिजनेस आइडिया- सिजन २’ का लागि आवेदन खुल्ला, युवा उद्यमीलाई विशेष प्लेटफर्म

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालका विद्यार्थी तथा युवाहरूमा रहेको उद्यमशीलता र नवीनतम् व्यावसायिक सोचलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ ओली एण्ड एसोसिएट्सले ‘पिच योर बिजनेस आइडिया – सिजन २’ आयोजना गर्ने भएको छ।

पहिलो संस्करणको सफलतापछि यस वर्ष थप परिष्कृत स्वरूपमा यो प्रतिस्पर्धा सुरु हुन लागेको हो।

युवाहरूका सिर्जनशील अवधारणालाई व्यावसायिक रूप दिन र उनीहरूलाई बजारको वास्तविक अनुभव प्रदान गर्न यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । यस संस्करणले विशेष गरी स्टार्टअपको अवधारणा बोकेका युवाहरूलाई उद्योगका स्थापित विशेषज्ञहरूबाट मार्गदर्शन र प्रतिक्रिया दिलाउने लक्ष्य राखेको छ।

यस प्रतियोगितामा सहभागी हुने युवाहरूले आफ्ना नवीनतम् व्यावसायिक योजनाहरू विज्ञहरूको टोलीसमक्ष प्रस्तुत गर्न पाउनेछन् । उत्कृष्ट योजना छनोट गरी उनीहरूलाई व्यवसाय सञ्चालनका व्यावहारिक सीप, बजार व्यवस्थापन र लगानीका स्रोतहरूका बारेमा प्रशिक्षित गरिनेछ।

पहिलो सिजनको तुलनामा यस पटकको ‘सिजन २’ लाई अझ बढी गतिशील, अवसरमुखी र प्रेरणादायी बनाउने आयोजकको तयारी छ । यसले युवा उद्यमीहरूलाई एकै ठाउँमा ल्याई व्यावसायिक सञ्जाल विस्तार गर्न समेत मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

विगत २४ वर्षदेखि विभिन्न शैक्षिक तथा व्यावसायिक गतिविधिमा संलग्न रहँदै आएको ओली एण्ड एसोसिएट्सले पुतलीसडकस्थित स्टार मलको तेस्रो तल्लाबाट प्रतियोगिताको तयारी र आवेदन प्रक्रिया अघि बढाएको छ। ओली एण्ड एसोसिएट्सले विद्यार्थी र नयाँ उद्यमीहरूलाई सही दिशा र सहयोग प्रदान गर्न सदैव अग्रसर भूमिका निर्वाह गर्दै आएको छ।

Logo