काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले मुलुकमा ‘केही पनि भएन’ भन्दै राज्य संयन्त्रप्रति आक्रामक हुने शक्तिहरूलाई तथ्य र तथ्याङ्कका आधारमा आत्मसमीक्षा गर्न आग्रह गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा सार्वजनिक गरिएको पछिल्लो आर्थिक श्वेतपत्रले विगतका सरकारहरूले गरेका सकारात्मक प्रयास र उपलब्धिको यथार्थ चित्र प्रस्तुत गरेको बताउँदै नेता बस्नेतले ‘केही भएन’ भन्ने भाष्य निर्माण गर्नेहरूलाई तथ्याङ्क हेर्न चुनौती दिएका हुन् ।
एमाले, कांग्रेस र माओवादी जस्ता पुराना दलहरूले मुलुकका लागि केही पनि गरेनन् भन्दै राज्य नै ध्वस्त पार्ने शैलीमा प्रस्तुत हुने बालेन शाह नेतृत्वको सरकारका अर्थमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको तथ्याङ्क सार्वजनिक हुँदा नैतिकताका आधारमा आत्मालोचना गर्नुपर्ने बस्नेतको तर्क छ।
‘एमाले, काँग्रेस र माओवादीले केही पनि गरेनन् भनेर राज्य नै जलाएर ध्वस्त पार्ने शैलीमा प्रस्तुत हुने बालेन नेतृत्वको सरकारका अर्थमन्त्री र रास्वपाले यस्ता तथ्यांक सार्वजनिक हुँदा कम्तीमा थोरै भए पनि आत्मालोचना गर्नु पर्ने होइन र ?’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।
श्वेतपत्रका विवरणहरू प्रस्तुत गर्दै नेता बस्नेतले आर्थिक वर्ष २०७२/७३ मा २६ खर्ब ८ अर्ब रुपैयाँ रहेको नेपालको अर्थतन्त्रको आकार २०८१/८२ सम्म आइपुग्दा ६१ खर्ब ७ अर्ब पुगेको जानकारी दिएका छन् । भूकम्प र नाकाबन्दीको कठिन समयमा ०.४३ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर अहिले ४.६१ प्रतिशत पुग्नु र प्रतिव्यक्ति आय ८९९ डलरबाट बढेर १,५१७ डलर पुग्नुले देश विकासको सही दिशामा अघि बढिरहेको प्रमाणित गर्ने उनले दाबी गरेका छन् ।
विशेष गरी ऊर्जा क्षेत्रमा भएको प्रगतिलाई मुख्य उपलब्धिको रूपमा व्याख्या गर्दै उनले विद्युत उत्पादन ६९७ मेगावाटबाट बढेर ४,१०५ मेगावाट पुग्नु र ९९ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच विस्तार हुनु ऐतिहासिक उपलब्धि भएको बताए । यसका साथै सडक सञ्जालको विस्तार, राजस्व सङ्कलनमा सुधार, र विदेशी मुद्रा सञ्चितिमा भएको बढोत्तरीले अर्थतन्त्रको जग बलियो बनाउँदै लगेको उनको भनाइ छ।
यद्यपि, नेता बस्नेतले वर्तमान सरकारको कार्यशैलीप्रति भने कडा आलोचना गरेका छन् । उनले वर्तमान सरकारको अनुदार नीति र उद्योगी–व्यवसायीप्रतिको ‘उदण्ड’ व्यवहारका कारण यो वर्ष अर्थतन्त्र तीव्र रूपमा ओरालो लाग्ने सङ्केतहरू देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।





























प्रतिक्रिया