काठमाडौं । गएको शनिबार र आइतबार राजधानीका चार वटा सुकुमबासी बस्तीमा २ हजार ८१ परिवारको घरटहरा भत्काइएका छन् ।
काठमाडौं महानगर प्रहरीका अनुसार थापाथलीमा एकसय ४४, गैरीगाउँमा एकहजार, मनोहरा (काठमाडौंतर्फ) एकसय ३१ र मनोहरा (भक्तपुर तर्फ) ८०६ परिवारका घरटहरा भत्काउँदा १० हजार ३२० जना बेघर भएका छन् ।
यसरी विस्थपित हुनेहरुले दशरथ रंगशालामा आएर तीन पुस्ते लेखाउन थालेका छन् । काठमाडौं महानगर प्रहरीका अनुसार मंगलबार एक हजार १२४ परिवारका ३ हजार ५८४ जनाले सुकुमबासी भएको निवेदन दिएका छन् ।
निवेदन लिने काम काठमाडौं महानगर र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीहरुले गरिरहेका छन् । होल्डिङ सेन्टरमा नाम लेखाउनेहरू मध्ये सानो संख्यालाई मात्र महानगरले धार्मिक आश्रम र काठमाडौंका विभिन्न गेष्टहरूमा राखिरहेका छन् ।
उपत्यका विकास प्राधिकरणका विकास आयुक्त विमला ढकाल, विस्थापितहरूले आफ्नै तरिकाले बस्न चाहेकाले अस्थायी आवासमा बस्न चाहनेहरूको संख्या थोरै देखिएको बताउँछिन् । अचानक घरटहरा भत्काइएपछि विस्थापित भएकाहरू मध्ये धेरैले आफन्तको शरण लिने अथवा छुट्टै कोठा खोजेर बसेको अनुमान गरिएको छ ।
काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, उपत्यका विकास प्राधिकरण, नेपाल प्रहरी जस्ता सरकारी निकायहरूले विस्थापितहरूको विवरण संकलन र व्यवस्थापनमा काम गरिरहेका छन् । तर, कस्ले नेतृत्व लिएर काम गर्ने भनेर यी निकायहरूबीच समन्वयको अभाव रहेको छ ।































प्रतिक्रिया