विदुर खतिवडा |
स्वास्थ्य सेवा र मेडिकल शिक्षा सेवाको सुधारको लागि लामो समयदेखि संघर्षरत डा. गोविन्द केसीलाई सोमवार सांझ प्रहरीले पक्राउ गरेपछि त्यसको व्यापक विरोध भएको छ । जुन शैलीले उनलाई गिरफतार गरियो त्यसको सबैतिर आलोचना भइरहेको छ ।
केसीलाई पक्राउ गरेको विरोधमा स्वतस्फुर्त रुपमा माइतीघर मण्डलामा मंगलवारको चिसो विहानीमा विरोध प्रर्दशन भयो । सो प्रर्दशनमा सयौ व्यक्तिहरु सहभागी भएका थिए । सो विरोध कार्यक्रममा पूर्व प्रधानमन्त्री वावुराम भट्टराई, नेपाली काँङग्रेसका युवा नेता गगन थापा र साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मित्र सहभागी भए ।
केसीको माग र आन्दोलनलाई नरुचाउने एमालेका नेताहरु सो प्रर्दशनमा सहभागी नभएपनि सामाजिक सन्जालमा एमाले नेता प्रदीप ज्ञावली लगायतकाले समेत अदालतको विरोधन गरेका छन् । केसीको मागमा सबैभन्दा कट्टर मानिएको दल नेकपा एमालेले समेत केसीको एजेण्डामा नरम वनेको छ । राजनीतिक दलदेखि सामान्य नागरिकहरुले समेत केसीलाई सही र अदालतलाई गलत भनिरहेका छन् ।
आखिर केसीले किन यत्रो समर्थन प्राप्त गरिरहेका छन् र किन उनीप्रतिको समर्थन र सहानुभुति वढीरहेको छ ?
यसको पहिलो कारण हो–केसीले अहिलेसम्म आफुलाई निष्ठाको परीक्षामा राम्रोसंग प्रस्तुत गरेका छन् । उनी कुनै पनि भ्रष्टाचार तथा अनियमिततामा जोडिएका छैनन् । उनको सार्वजनिक रुपमा खासै कमजोरी नभएका कारण पनि उनी प्रधानमन्त्री, संसददेखि अदालतसम्मलाई प्रश्न उठाउन सक्ने भएका छन् ।
दोस्रो, चिकित्सा क्षेत्रमा लागेर उनले कहिल्यै पनि यसलाई पैसा कमाउने माध्यम वनाएनन् । वाढी पहिरो तथा डुवानबाट प्रभावित भएका सामान्य नागरिकहरुको उपचारको लागि सार्वजनिक यातायात चढेर उनी जाने गर्छन् । दुर्गम भुभागमा औषधी अभाव हुँदा तथा कुनै महामारीको समयमा उनी औषधी लिएर उपचार गर्न जाने गर्दछन् जसले गर्दा उनीप्रतिको सम्मान र सद्भाव ह्वातै वढेको छ ।
तेस्रो, मेडिकल माफियाहरुका कारण स्वास्थ्यजस्तो जनताको प्रत्यक्ष ख्याल र सरोकार रहेको क्षेत्र पुरै व्यापारमा परिणत भएको छ । जोसँग पैसा छ उसले मात्र उपचार प्राप्त गर्ने र गरिव जनताहरु औषधी नपाई मरिरहेका छन । यस्तो परिपाटीलाई अन्त्य गर्नका लागि उनले आन्दोलन छेडिरहेका छन् जसका कारण उनीप्रतिको सम्मान वढीरहेको छ ।
चौथो, उनका सन्तान छैनन, त्यसैले उनलाई कमाउनुपर्ने र जोगाउनुपर्ने केही पनि छैन् । उनको एउटै उदेश्य भनेको नाम कमाउनु र जनताको विश्वास जित्नु हो । आफ्नो व्यक्तिगत एवं पारिवारिक स्वार्थ नभएपछि उनलाई कुनै अभियानमा लाग्न कुनै समस्या छैन् ।
पाँचौ, उनी आफ्नो ज्यानको वाजी राखेर एक पटक होइन दर्जनौभन्दा वढी आमरण अनशनमा बसिरहेका छन् । आफ्ना मागहरु आंशिक रुपमा भने पनि पुरा नगरीकन उनले अनसन तोडेका छैनन् । त्यसैले धेरैलाई लागेको छ, उनले आफ्नो ज्यानको समेत माया नगरी कुनै पनि अभियानमा लागेका छन् । पैसाको प्रलोभन तथा कसैको धम्कीको परवाह उनलाई छैन् ।
छैटौ, केही मेडिकल माफिया वाहेक उनको माग जायज छैन भनेर कसैले भन्न सकेको छैन् । अथवा उनी आफ्ना मागहरुको वारेमा कहिले पनि चुकेका छैनन् । त्यही कारणले समाजका हरेक तह र तप्काले उनलाई समर्थन गर्ने गर्दछ ।
सातौ, केसीले मिडियाको निकै राम्रो सहयोग पाईरहेका छन् । जव उनले अनशनको शुरुवात गर्दछन, महिनौदिनसम्म उनको समाचार नै मुख्य समाचार बन्ने गर्दछन् । पत्रिकाका सम्पादकहरु सामुहिक रुपमा उनको आन्दोलनप्रति ऐक्यवद्धता जनाउन जाने गर्दछन् । समग्र मिडियाले सकारात्मक समाचार दिएका कारण नै उनको आन्दोलनको पक्षमा राम्रो जनमत वनेको छ । यदि उनको आन्दोलनको विषयमा मिडिया विभाजित हुँदो हो त परिस्थिती अलग हुने गर्दथ्यो ।
आठौ, केसीको आन्दोलनको खुरुखुरु अगाडी वढनुको कारण कुनै राजनितिक गन्ध नहुनु पनि हो । कुनै राजनितिक गन्ध नआएका कारण सबै राजनितिक दल र विचारहरुको समर्थन रहने गरेको छ ।
नवौ, कुनै पनि सामाजिक आन्दोलनलाई अगाडी वढाउनको लागि निरन्रताको आवश्यकता पर्दछ । उनले कुनै दायाँवायाँ नगरी आन्दोलनलाई निरन्तर रुपमा अगाडी वढाईरहेका छन् जसले गर्दा जनताको विश्वास प्राप्त भएको छ ।
दशौ, संसाभरी नै सामाजिक आन्दोलन सफल भएका धेरै उदाहरण छन् । सामाजिक आन्दोलनलाई समाजले अपनत्व ठान्दछ किनकी यस्तो आन्दोलनमा सामाजिक विषयहरु नै हुने गर्दछन् । समाजलाई भ्रष्ट, माफिया लगायतका गाँजीहरुको र यसबाट व्यक्तिहरु प्रभावित भएको अबस्थामा त्यसलाई रोक्न गरिने आन्दोलनमा सहभागिता हुने गर्दछ । विश्वका केही सामाजिक आन्दोलनहरुलाई केलाउने प्रयत्न गरिएको छ ।
गोविन्द केसीको जस्तै विश्वका केही सामाजिक अभियानहरु
- सन् १९७३ का भारतको केरला राज्यमा साइलेन्ट भ्यालीको रक्षाको माग गदै व्यापक आन्दोलन भयो । १२ महिना नै हरियाली रहने सो जंगलको संरक्षणको लागि हाइड्रोपावर परियोजना वनाउन नदिनको लागि भएको आन्दोलनमा स्वत स्फुर्त हजारौ मान्छेहरु सहभागी भएका थिए । यो उपत्याकाको वारेमा रहेको विवाद अहिले पनि साम्य भईसकेको छैन् ।
- सन् १९७३ मा नै भारतको चिपको नामक सामाजिक आन्दोलनमा हजारौ सहभागी भएका थिए । वन फडानीको विरुद्ध र हरियो जंगलको संरक्षको लागि भएको यो आन्दोलनमा भारतमा हजारौ मान्छेहरु सहभागी भएका थिए । सामाजिक अभियान्ता चांदनी प्रसाद भट्टले गरेका थिए ।
- सन् २०११ मा भारतमा भ्रष्टाचार विरोधी अन्ना हजारेको आन्दोलनको विश्वको ध्यान आकृष्ट ग–यो । उनले नयां दिल्लीस्थित जन्तरमन्तरमा आमरण अनसन सुरु गरेपछि देशभर भरबाट उनलाई समर्थन प्राप्त भयो । उनको आन्दोलनका कारण तत्कालिन कृषिमन्त्री शरद पवार राजिनामा दिन वाध्य भए । सन् २०११ मा विश्वको ख्यातीप्राप्त टाइम पत्रिकाले विश्वको १० उत्कृष्ट समाचारको सुचिमा यो आन्दोलनलाई राखेको थियो ।
- सन् १८८९ मा वेलायतमा महिलालाई भोट दिने अधिकार हुनुपर्ने माग गदै व्यापक आन्दोलन भयो । विशेषत महिलाहरुले आफुलाई मताधिकार हुुनुपर्ने माग गदै आमरण अनसनको आन्दोलन थाले । उनीहरुको व्यापक आन्दोलनका कारण सन् १९२९ जुलाई २ मा उनीहरुले भोट हाल्ने अधिकार प्राप्त गरे ।
- सन् २०११ मा अमेरिकामा भएको अकुपाई वाल स्ट्रीट आन्दोलनको विश्वको ध्यान आकृष्ट ग–यो । विशेषत विश्वमा रहेको आर्थिक विभेदको अन्तको लागि सो आन्दोलन भएको थियो । समाजका व्याप्त भ्रष्टाचार तथा आर्थिक विभेदको अन्तको लागि सो आन्दोलन गरिएको थियो ।
केसी र अदालतको अवहेलना
अदालतको अवहेलनाको विषय नेपालमा जहिले पनि चर्चामा आईरहने विषय हो । दुई वर्ष अगाडी अदालतको अवहेलना सम्वन्धी कानुनको मस्यौदा संसदमा प्रस्तुत भयो तर त्यसमा प्रेस स्वतन्त्रता विरोध प्रावधान भएको भन्दै त्यसको व्यापक विरोध भयो । अहिले त्यो विधेयक संसदमा छ । नेपालमा अदालतको अवहेलना सम्वन्धी छुटै कानुनको व्यवस्था नहुँदा यस विषयमा अदालतको स्वेच्छाचारिता छ ।
आफ्नो आलोचना गर्ने व्यक्तिलाई अवहेलनाको मुद्धा लगाएर ठिक पार्ने नियत सर्वाेच्च अदालतको छ । त्यसैले यतिवेला सबैले अदालतको अवहेलना सम्वन्धी कानुन वनाउनको लागि दवाव दिने समय हो । यतिवेला पनि अदालतकै कर्मचारीले डा. केसी विरुद्ध मानहानीको मुद्धा दर्ता गरेका हुन् । आफ्ना कर्मचारीको अदालतको मानहानी भएको भन्दै मुद्धा दर्ता गरेको केही समयमा नै अदालतले केसीलाई पक्रनको लागि आदेश दियो ।
केही वर्षयता अदालतको मर्यादा अदालतको केही काम कारवाहीको कारणले निरन्तर रुपमा खस्कदै गएको छ । विशेषत अदालतमा व्यापक रुपमा भ्रष्टाचार हुने गरेका रिपोर्टहरु सार्वजनिक भईरहेका छन् । केसीले पत्रकार सम्मेलनमा प्रधानन्यायधिश गोपाल पराजुलाई किटेर नै भ्रष्ट भनेका थिए । उनले भने, ‘पदीय मर्यादाविपरीत न्यायलयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई विक्रीको विषय वनाउने भ्रष्ट प्रधानन्यायधीश गोपाल पराजुलीलाई पदबाट तत्काल राजीनामा गनृ लगाइयोस् । तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानविन र कारवाही गरियोस । ’ निश्चय नै केसीको अभिव्यक्तिका कारण अदालतको प्रतिष्ठामा आंच आएको छ तर पनि जनमत चाहि केसीको पक्षमा नै देखिन्छ । यसको स्पष्ट कारण हो–केसीले उठाएको मागप्रति व्यापक जनसमर्थन छ ।
अदालतले लिने निर्णहरुको बारेमा विगतमा पनि व्यापक चर्चा र बहश भएका छन् । विशेषतः राजनितिक दल र अदालतको विचमा वेला वेलामा आरोप प्रत्यारोप चल्ने गरेको छ । राजाको शाही शासनको समयमा तत्कालीन नेपाली काँङग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अदालतलाई नारायणहिटी सारिदिए हुन्छ भन्ने अभिव्यक्ति दिएपछि उनलाई अदालतको अवहेलनाको आरोप लागेको थियो । डा. केसीको सन्दर्भमा चाहि मेडिकल माफिया र न्यायधिशरुको सांठसांठको विषय बारम्बार वाहिर आउने गर्दछ ।
विशेषतः मेडिकल माफियाहरुको विषयमा अन्तरिम आदेश दिने पुनरावेदनदेखि सर्वाेच्च अदालतसम्म गोपाल पराजुली नै रहने गरेका तथ्यहरु बाहिर आएका छन् । विशेषतः मेडिकल माफियाहरु पराजुलीको जहाँ सरुवा तथा वढुवा भयो त्यही मुद्धा वोकेर जाने गरेका तथ्यहरु समेत सार्वजनिक भएका छन् । अर्काेतर्फ अरवौ राजस्व छलीमा मुछिएका चुडामणी शर्मालाई उन्मुक्ति दिएका विषयले पनि न्यायलयको कार्यशैली माथि प्रश्च चिन्ह उत्पन्न गरेको छ । उसो त यस अगाडीका अदालतको अपहेलना सम्वन्धी विषयमा अदालतले सम्वन्धीत व्यक्तिलाई नै वोलाउने प्रचलन रहेको थियो तर केसीलाई भने सिधै पक्रने काम भयो त्यसैले पनि उनीप्रतिको समर्थन र सहानुभुति झनै वढेको छ । उनलाई नपक्रेर पनि अदालतमा हाजिर गराउन सकिने अबस्था थियो । उनलाई अपमान गर्ने उदेश्यले सो कार्य गरेको देखिन्छ ।
के हुनसक्छ सेफल्यान्डिङ ?
डा. केसीले दिएको अभिव्यक्तिका कारण अदालतको अवहेलना भएको हुनसक्छ । तर सार्वजनिक दवाव यति छ कि उनलाई त्यसमा सजाया दिनसक्ने अवस्थामा अदालत छैन् । त्यसैले यो विषयको सुरक्षित अवतरणको एउटै विषय भने पहिलो बहश गरेपछि अर्काे बहशको समय अनिश्चितक कालसम्म लैजाने । यस्ता प्रयासहरु भईरहेका छन् ।
त्यसैले वुधवारको बहशपछि यस विषयलाई पछाडी सार्दै जाने रणनीति अदालतको हुनसक्छ । अरु कोही अधिवक्ताले दायर गरेको मुद्धा नभई सर्वाेच्च अदालत आफैले अगाडी बढाएको विषय भएकाले उसले नै यसलाई सुरक्षित किनारा लगाउन सक्छ । यदि यस विषयलाई तन्काउँदे जाने हो भने सडकका निरन्तर प्रर्दशन भईरहने भएकाले अदालत आफै सकेसम्म छिटो सुरक्षित अवतरणको पक्षमा रहेको देखिन्छ ।































प्रतिक्रिया