श्रम अधिकार सुनिश्चितताको शुभकामना : राष्ट्रपति

श्रम अधिकार सुनिश्चितताको शुभकामना : राष्ट्रपति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न परिकल्पना गरिएको संवैधानिक प्रबन्धले मूर्तरूप लिँदै जाने विश्वास व्यक्त गरेका छन् । विश्व मजदुर दिवस (मे १, २०२६)का अवसरमा शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना पनि गरेका छन् ।

“मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नु पर्दछ,” राष्ट्रपति पौडेल शुभकामना सन्देसमा उल्लेख छ ।

श्रमिकहरूको पेसागत मर्यादा र सम्मान अभिवृद्धि गर्न उनीहरूको हक, अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ मा यो दिवस मनाउने गरिन्छ । यस दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको बताए । राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, “विश्व मजदुर दिवसले श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं समाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् । “

Skip This
Skip This
Logo