भारतले खोल्यो लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा गर्नेको आवेदन, नेपाललाई छैन पत्तो

भारतले खोल्यो लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा गर्नेको आवेदन, नेपाललाई छैन पत्तो

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । भारतले नेपालको भूमि लिपुलेक भञ्ज्याङ हुँदै गरिने पवित्र कैलाश मानसरोवर यात्रा यस वर्षको जुन महिनादेखि सुरु हुने जनाएको छ । कोभिड–१९ महामारी र भारत–चीन सीमा तनावका कारण लामो समय रोकिएर गत वर्षदेखि पुनः सुरु भएको यो यात्रा यस वर्ष जुनदेखि अगस्टसम्म सञ्चालन हुने गरी तयारी थालिएको हो।

भारतको विदेश मन्त्रालयका अनुसार यस वर्ष लिपुलेक मार्गबाट ५०० तीर्थयात्रीहरूलाई भ्रमणको अनुमति दिइनेछ। ती यात्रीहरूलाई १० वटा समूहमा विभाजन गरिनेछ, जहाँ प्रत्येक टोलीमा ५० जना सदस्य रहनेछन्। यात्राको रूपरेखा तय गर्न जिल्ला प्रशासनले सम्बन्धित सबै विभागका अधिकारीहरूसँग समन्वय बैठक गरी तयारीलाई तीव्रता दिएको छ।

लिपुलेक र कालापानी क्षेत्र नेपाली भूमि हुन् । तर यो अहिले भारतको नियन्त्रणमा छ । भारतले यो भूभाग आफ्नै भएको दाबी गर्दै आएको छ भने नेपालले औपचारिक रूपमै यसको विरोध जनाएको छ। यसबीचमा पटकपटक कूटनीतिक नोट पठाउँदा पनि कुनै वार्ता गरेको छैन।

विदेश मन्त्रालयले यस वर्षको यात्रा लिपुलेक र सिक्किमको नाथु ला गरी दुईवटा मार्गबाट सञ्चालन गर्ने घोषणा गरेको छ। यात्राका लागि कुल २० वटा टोलीहरू पठाइनेछ। भारत सरकारले तीर्थयात्रीहरूको छनोट प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको छ। इच्छुक आवेदकहरूले आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ। यात्रीहरूको छनोट कम्प्युटर प्रणालीबाट निष्पक्ष र लैङ्गिक सन्तुलन मिलाएर गरिने मन्त्रालयले जनाएको छ।

चिनियाँ सरकारसँगको समन्वयमा आयोजना हुने यस यात्राको विस्तृत मिति भने विदेश मन्त्रालयले केही समयपछि सार्वजनिक गर्नेछ। आवेदनका लागि कुनै पनि भौतिक कागजात वा फ्याक्स पठाउनु नपर्ने र सम्पूर्ण जानकारी वेबसाइटमार्फत नै उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।

Logo