काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा भएको उक्त खेलमा मुम्बईले दिएको १६० रनको लक्ष्यलाई चेन्नाईले १८.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
खेलमा मुम्बई इन्डियन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। मुम्बईका लागि नमन धीरले ३७ बलमा ५७ रनको अर्धशतकीय पारी खेले भने रायन रिकलटनले ३७ रन र सूर्यकुमार यादवले २१ रनको योगदान दिए। निर्धारित २० ओभरमा मुम्बईले ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो।
चेन्नईका बलर अंशुल कम्बोजले ३ विकेट लिए भने नुर अहमदले २ विकेट झारे।
१६० रनको मध्यम लक्ष्य पछ्याएको चेन्नईको सुरुवात उत्कृष्ट रह्यो। टोलीका कप्तान ऋतुराज गायकवाडले ४८ बलमा अविजित ६७ रन बनाउँदै टोलीलाई जितको नजिक पुर्याए। उनलाई कार्तिक शर्माले बलियो साथ दिए, जसले ४० बलमा ५४ रनको योगदान दिए।
मुम्बईका लागि जस्प्रीत बुमराह र अल्लाह गजनफरले समान १–१ विकेट लिए पनि चेन्नाईका ब्याटरहरूलाई रोक्न पर्याप्त भएन।
अविजित अर्धशतकीय पारी खेलेका चेन्नईका कप्तान ऋतुराज गायकवाड खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।































प्रतिक्रिया