काठमाडाैं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या भएको ९ हप्ता बितिसक्दा पनि उनको अन्त्येष्टि हुन नसक्नुले विश्व राजनीतिमा तरंग पैदा गरेको छ। सन् १९८९ मा उनका पूर्ववर्ती आयतोल्लाह रुहोल्लाह खोमेनीको अन्त्येष्टिमा लाखौंको जनसागर उर्लिएको थियो। तर, ८६ वर्षीय खामेनीको हकमा भने स्थिति पूर्णतः भिन्न र रहस्यमयी बनेको छ।
अमेरिकी र इजरायली सेनाको संयुक्त हमलामा खामेनी मारिएपछि अहिले इरानको बागडोर उनका छोरा मोज्तबा खामेनीको हातमा छ। यद्यपि, नयाँ प्रशासनले हालसम्म उनको अन्त्येष्टि गर्ने स्थान र समय तय गर्न सकेको छैन।
किन रोकियो अन्त्येष्टि ?
‘फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसी’ का विज्ञ बेहनाम तालेबलुका अनुसार, इरानी शासन अहिले चरम डर र कमजोरीको अवस्थामा छ। अहिलेको शासन यति त्रसित छ कि उनीहरू ठूलो सार्वजनिक समारोह आयोजना गर्ने जोखिम मोल्न चाहँदैनन्।
खामेनीको मृत्युपछि इजरायलले लगातार धेरै हप्तासम्म इरानमा बमबारी गरिरह्यो। अमेरिका र इजरायलसँगको अस्थायी युद्धविरामका बावजुद इरानी अधिकारीहरूलाई के डर छ भने– अन्त्येष्टिका लागि भेला भएको भीडमा इजरायलले पुनः हवाई हमला गर्न सक्छ वा सोही मौका छोपेर राष्ट्रवादी प्रदर्शनकारीहरूले शासन विरुद्ध विद्रोह सुरु गर्न सक्छन्।
अर्को महत्त्वपूर्ण पक्ष भनेको नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको सार्वजनिक उपस्थिति नहुनु हो। आफ्ना पिताको मृत्यु भएको यतिका समय बितिसक्दा पनि उनी कतै देखिएका छैनन्। यदि अन्त्येष्टि समारोह आयोजना गरियो भने मोज्तबाले सार्वजनिक रूपमा देखिनुपर्ने हुन्छ, जसका लागि उनी अहिले तयार नरहेको विज्ञहरूको दाबी छ। अझ पछिल्लाेसमय उनी आफैं बमबारीमा परेर घाइते भएका थिए ।
रिपोर्टका अनुसार, इरानले अब राजधानी तेहरानको सट्टा उत्तर-पूर्वी सहर मशादमा खामेनीको अन्त्येष्टि गर्ने तयारी गरिरहेको छ। मशाद खामेनीको जन्मथलो हुनुका साथै इजरायली सिमानाबाट टाढा र तुर्कमेनिस्तानको नजिक पर्दछ, जसलाई सुरक्षाको दृष्टिकोणले सुरक्षित मानिएको छ।





























प्रतिक्रिया