काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक मेरुदण्डलाई मजबुत बनाउन निजी क्षेत्रको सुरक्षा र सम्मान अनिवार्य रहेको बताएका छन् ।
महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ६० वर्षको यात्रा केवल समयको गणना मात्र नभई राष्ट्रिय समृद्धिको जग बसाल्ने सङ्घर्षको इतिहास भएको उल्लेख गरे ।
आफ्नो कार्यकालको समीक्षा र आगामी कार्यदिशा प्रस्तुत गर्दै अध्यक्ष ढकालले वर्तमान सरकारले महासंघको आग्रहलाई स्वीकार गर्दै ‘निजी क्षेत्र प्रवर्द्धन एवं संरक्षण रणनीति’ (पिएसपीपी) पारित गरेकोमा खुसी व्यक्त गरे । “निजी क्षेत्रमाथि हुने भौतिक र नीतिगत आक्रमणले व्यवसायीको मनोबल गिराएको थियो,” उनले भने, “नयाँ रणनीतिले अब व्यवसायीलाई सुरक्षाको ग्यारेन्टी गर्नेछ र लगानीको वातावरणमा सुधार ल्याउनेछ।”
अध्यक्ष ढकालले अब मुलुक नयाँ चरणको आर्थिक सुधारमा प्रवेश गर्नुपर्नेमा जोड दिए । महासंघको ढोरपाटन बैठकले दोस्रो चरणको आर्थिक सुधारको मार्गचित्र कोरेको स्मरण गर्दै उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझावहरू कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे । उनले भने, “अहिले संसदमा झन्डै दुई तिहाइको स्थायी सरकार छ। यो नीतिगत स्थायित्व र विकासका लागि अभूतपूर्व अवसर हो, जसलाई हामीले चुकाउनु हुँदैन।”
नेपाली युवाहरूको वैदेशिक पलायनप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारी सिर्जना नगरेसम्म निराशालाई आशामा बदल्न नसकिने बताए । ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको तथ्य प्रस्तुत गर्दै उनले सरकारका सबै निकायको मुख्य उद्देश्य लगानीमैत्री वातावरण बनाउनु पर्नेमा जोड दिए । दक्षिण कोरिया र दक्षिण एसियाली मुलुकहरूको उदाहरण दिँदै उनले छिमेकी बजार र विश्वव्यापी पहुँचको फाइदा उठाउन ढिला गर्न नहुने बताए ।
लगानीका क्षेत्रमा महासंघले चालेको कदमबारे जानकारी दिँदै ढकालले १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना भई काम सुरु गरिसकेको बताए । यसले स्वदेशी पुँजीबाटै ठूला आयोजना सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिने उनको विश्वास छ। साथै, वैदेशिक लगानी भित्र्याउन सुशासन पहिलो सर्त भएको भन्दै उनले प्रविधिको प्रयोगमार्फत भ्रष्टाचार न्यूनीकरण र सेवा प्रवाहमा सहजता ल्याउन सरकारलाई सुझाव दिए ।
कोभिड-१९ महामारी र भूकम्प जस्ता विपदमा पनि निजी क्षेत्रले धैर्यता देखाएको उल्लेख गर्दै अध्यक्ष ढकालले भने, “म प्रतिकूलतामा अनुकूलता खोज्ने व्यक्ति हुँ। हिजोका कठिन दिनमा हामीले धुलो टकटकाउँदै उठ्ने प्रण गर्यौँ र उठ्यौँ पनि। अहिलेको अवस्था सुधारोन्मुख छ, भोलिका दिन थप सुनौला हुनेछन्।”































प्रतिक्रिया