काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा ओमानविरुद्ध नेपाल हाबी हुने ढङ्गले अघि बढेको छ।
नेपालले प्रस्तुत गरेको २५७ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २१.५ ओभरमा ५ विकेट गुमाउँदै मात्र ९२ रन बनाउन सकेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा अन्तिम एक बल बाँकी छँदा अलआउट हुँदै २५६ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको ओमनलाई मध्यम योगफलमा रोक्न नेपाली बलरहरूले कसिलो बलिङ गरिरहेका छन्। विशेषगरी युवा बलर गुल्सन झा ओमनका लागि घातक सावित भएका छन्। उनले ६ ओभरमा मात्र १७ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका छन्।
त्यस्तै, सन्दीप लामिछानेले अत्यन्तै किफायती बलिङ गर्दै ५ ओभरमा २ मेडनसहित मात्र ८ रन खर्चिएका छन्। नन्दन यादवले पनि एक विकेट चट्काउँदै नेपालको पकड मजबुत बनाएका छन्।
ओमनका लागि हस्नैन उल वाहबले २९ रन र जतिन्दर सिंहले १२ रनको योगदान दिए पनि अन्य ब्याटरहरू क्रिजमा टिक्न सकेनन्। अहिले क्रिजमा हम्माद मिर्जा २७ र विनायक शुक्ला १ रन बनाएर खेलिरहेका छन्।
खेलको हालको अवस्था अनुसार ओमनलाई जितका लागि २८.१ ओभरमा १६५ रनको आवश्यकता छ भने नेपाललाई जितका लागि अब ५ विकेटको मात्र खाँचो छ।





























प्रतिक्रिया