काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश भू–भागमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ ।
विभागले शुक्रबार सार्वजनिक गरेको मौसम पूर्वानुमान अनुसार अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने सम्भावना रहेको छ । विभागको जलवायु विज्ञान महाशाखाका अनुसार मनसुन अवधिमा (जेठ १८ देखि असोज १४ सम्म) गर्मी बढी हुने र वर्षा न्यून हुने सम्भावना देखिएको हो । यसले कृषि, जलस्रोत, ऊर्जा तथा दैनिक जीवनमा प्रभाव पार्न सक्ने विभागले जनाएको छ ।

कर्णाली प्रदेशको उत्तरी भू–भाग र कोशी प्रदेशको उत्तरी भू–भागमा औसत वर्षा हुने सम्भावना रहेको छ । कर्णाली प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशको पूर्वी भू–भाग र कोशी प्रदेशको दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५–६५ प्रतिशत मात्र छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशको पश्चिमी भू–भाग र कोशी प्रदेशको मध्य भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५–५५ प्रतिशत र देशका बाँकी भू–भागमा पनि सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५–४५ प्रतिशत रहेको विभागले उल्लेख गरेको छ ।
विभागका अनुसार यस वर्ष मनसुन अवधिमा देशभरि नै अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी रहने सम्भावना छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशको उत्तरपूर्वी भाग, कर्णालीको उत्तरी भाग, लुम्बिनीको पश्चिमी भाग, गण्डकीको उत्तरपूर्वी तथा दक्षिणी भाग, बागमतीको पश्चिमी भाग, मधेश र कोशी प्रदेशका विभिन्न भू–भागमा बढी तापक्रमको सम्भावना ५५–६५ प्रतिशत रहेको छ भने अन्य क्षेत्रमा ४५–५५ प्रतिशतसम्म रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका उत्तरी भू–भाग, मधेशको पूर्वी भाग र कोशीको दक्षिणी भागमा बढी हुने सम्भावना ५५–६५ प्रतिशत छ भने अन्य क्षेत्रमा ३५–५५ प्रतिशतबीच रहेको छ ।
नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ (जेठ ३१/जेठ ३२) हो । यस वर्ष पनि सोही आसपास मनसुन भित्रिने अनुमान छ । मनसुन बाहिरिने औसत मिति भने अक्टोबर २ रहेको छ । मौसमविद् सुदर्शन हुमागाईंले विभागले आयोजना गरेको कार्यक्रममा यो प्रक्षेपण सार्वजनिक गर्दै दीर्घकालीन मौसम पूर्वानुमानका आधारमा यो विश्लेषण गरिएको बताएका छन् ।

विभागले कम वर्षा र बढी गर्मीको सम्भावनालाई मध्यनजर गर्दै कृषि, पशुपालन, खानेपानी तथा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।





























प्रतिक्रिया