उदयपुर, २१ पुस ।
देश राजनीतिक दलका नेताहरुले मात्रै विगारेका छैनन् विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयमा काम गर्ने निजामति कर्मचारीहरुले गर्दा समेत सेवाग्राही मारमा परेका छन् । सरकारी कार्यालय तथा सार्वजनिक स्थानहरु धुमपान र मध्यपान निषेध गरिएको छ । तर तिनै कर्मचारीहरुबाट यसको उलंघन भइरहेको छ ।
यस्ता पदार्थहरु सेवन गरेका मानिसलाई कार्यालय प्रवेशको ढोका नै बन्द गर्नुपर्ने हो । तर कार्यालय प्रमुख नै यस्तो हर्कतमा लागेपछि कसको के नै जान्छ र । उदयपुरको एक सरकारी कार्यालयको घटनाले हामी सबै नेपालीको शिर नै झुकाउन बाध्य बनाएको छ । रक्सी सेवन गरेर कार्यालयभित्र पिसाब फेरेको आरोपमा एक कार्यालय प्रमुख पक्राउ परेका छन् ।
उदयपुरको गाईघाटमा रहेको यातायात सेवा कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिना रक्सी सेवन गरेर कार्यालयभित्रै पिसाब फेरेको आरोपमा पक्राउ परेका हुन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको टोलीले यातायात सेवा कार्यालयमा छड्के अनुगमन गरेको थियो ।
अनुमगनको पूर्व सूचना पाएर फरार भएका यातायातका प्रमुख तिम्सिना गाईघाट गैरुनको उनकै घरबाट पक्राउ परेका प्रमुख जिल्ला अधिकारी कँणेलले जानकारी दिए ।
कँणेलका अनुसार यातायात कार्यालयबाट निमित्त प्रमुख रहेका शिवकुमार तिम्सिनाले मादक पदार्थ सेवन गरी कार्यालय आउने गरेको दैनिक गुनासो आउन थालेपछि छड्के अनुगमन गरेर पक्राउ गरिएको बताए ।
अनुगमनको बेला प्रमुख जिल्ला अधिकारी कँणेलसँग कार्यालयकी खरिदार लक्ष्मी न्यौपानेले कार्यालय प्रमुख तिम्सिना कार्यालय समयमै रक्सी खाएर आउने गरेको गुनासो गरेकी थिइन् ।
न्यौपानेले कार्यालय प्रमुख तिम्सिनाले जताततै पिसाब फेर्ने, महिलाहरूलाई अभद्र व्यवहार गर्ने, अश्लील शब्द बोल्ने गरेको गुनासो प्रमुख जिल्ला अधिकारी कँडेल समक्ष गरेकी थिइन् । प्रमुख जिल्ला अधिकारी कँडेललाई कार्यालयकी सहयोगी पूर्णिमा मगरले आफ्नो तलबसमेत तिम्सिनाले खाइदिने गरेको गुनासो गरेकी छिन् ।
मगरले आफूले पाउने मासिक आठ हजार रुपैयाँमा तीन हजार रुपैयाँ कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिनाले लैजाने गरेको बताइन् । ८ जनाको दरबन्दी रहेको यो कार्यालयमा ३ जना कर्मचारी कार्यरत छन् ।































प्रतिक्रिया