काठमाडौं । रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
“ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तक्र्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम गर्न सक्ने तथा इच्छुक ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सरिक गराई उत्पादनसँग जोड्ने एवं राष्ट्रिय रूपमा उनीहरूसित सम्बन्धित विषयका नीति निर्माणमा र सामुदायिक तहका क्रियाकलापमा अनिवार्यरूपमा उनीहरूको प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्दछ”, राष्ट्रपति पौडेलको भनाई छ ।
दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यावहारिक कार्ययोजना बनाएर कदम चाल्न सरकारलगायत सबैलाई उनले सुझाव दिए । स्वस्थ्यकर सामग्री खानु, लाउनु र आवश्यक परेका अवस्थामा स्वास्थ्य उपचार सेवा पाउनु ज्येष्ठ नागरिकको हक भएको उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले सम्मेलन ज्ञान र सीपको अन्तर्पुस्ता हस्तान्तरण तथा जनसङ्ख्याको अवस्थाअनुसार अघिल्लो र पछिल्लो पुस्ताको समिश्रणको एक सेतु बन्न सकोस् भन्ने सुझावसहित सम्मेलनको सफलताको शुभकामना व्यक्त गरे ।
दक्षिण एसियामै वामपन्थी राजनीतिका प्रथम निर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीजी सरल र सादगी नेता भएको बताउदै राष्ट्रपति पौडेलले भने, “विसं २०५१ मा उहाँकै प्रधानमन्त्रित्वको सरकारले मासिक वृद्धभत्ताको व्यवस्था गरेको हो ।”




















