विद्या भण्डारीमाथि नेतृत्वले अन्याय गर्‍यो, पुस्तान्तरण नभए पार्टी उठ्न सक्दैन: बिन्दा पाण्डे

विद्या भण्डारीमाथि नेतृत्वले अन्याय गर्‍यो, पुस्तान्तरण नभए पार्टी उठ्न सक्दैन: बिन्दा पाण्डे

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य बिन्दा पाण्डेले पार्टीको आन्तरिक लोकतन्त्र र नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी छन् । उनले नेकपा एमालेभित्र सामूहिक निर्णय प्रक्रियाभन्दा पनि अध्यक्षको एकल अधिकार हावी भएको र यसले गर्दा कार्यकर्ताको विवेक बन्धक बनेको टिप्पणी गरेकी छन् ।

पाण्डेले केन्द्रविन्दु टोलीसँग कुरा गर्दै विद्यादेवी भण्डारीको सदस्यता खारेजी र पार्टीमा महिला नेतृत्वलाई हेर्ने संकीर्ण दृष्टिकोणको कडा आलोचना गर्दै यसलाई अन्यायपूर्ण कदमका रूपमा व्याख्या गरेकी छन् । ट्रेड युनियन आन्दोलनको इतिहास र श्रमिक अधिकारका विषयमा चर्चा गर्दै उनले नेतृत्वमा नयाँ पुस्ताको हस्तान्तरण र उचित समीक्षा नभए पार्टी पुनर्जीवित हुन कठिन हुने चेतावनी दिएकी छन् । केन्द्रविन्दु टोलीसँग कुराकानीका आधारमा तयार पारिएको अन्तर्वार्ता:

पार्टीभित्र महिला नेतृत्व क्रमशः निष्क्रिय हुँदै गएको देखिन्छ । ऊर्जावान् र सक्रिय नेतृहरू पार्टीमा सक्रिय नहुने घोषणा गर्नुपर्ने स्थिति किन आयो? यसको मुख्य कारण के हो?

यो अत्यन्तै दुःखद् र चिन्ताको विषय हो । पार्टीमा महिला नेतृत्व निष्क्रिय बन्दै गएको र ऊर्जावान् नेतृहरू पछि हट्नुपर्ने स्थिति बन्नु भनेको पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भएको स्पष्ट सङ्केत हो । विद्यादेवी भण्डारी जस्तो नेतृ, जसले राष्ट्रपतिको रूपमा देशको नेतृत्व गर्नुभयो, पार्टी निर्माणमा ठूलो योगदान गर्नुभयो र लामो समयसम्म सक्रिय रहनुभयो ।

उहाँमाथि गरिएको व्यवहार अत्यन्तै अन्यायपूर्ण र अमानवीय थियो । उहाँलाई चुनौती दिएर सदस्यता खारेज गर्ने जस्तो कदम चालियो । यो निर्णय व्यक्तिगत होइन, सामूहिक रूपमा सचिवालयले पनि साथ दियो । यसले पार्टीभित्र ठूलो असन्तुष्टि पैदा गर्‍यो र धेरै महिला कार्यकर्ताहरू निराश भए । ईश्वरी घर्ती लगायत अन्य ऊर्जावान् महिला नेतृहरू पनि यही कारणले पछि हट्नुपर्ने अवस्थामा पुग्नुभयो । जब आफ्नो विवेक (Conscience) अनुसार बोल्न पाइँदैन, जब एउटै व्यक्तिको इच्छा र निर्णयले सबै कुरा चल्ने स्थिति हुन्छ, तब इमानदार र सक्षम नेतृहरूले सक्रिय रहन गाह्रो मान्नु स्वाभाविक हो ।

उहाँहरूले पार्टी छोड्नुभएको होइन, तर बोल्न नसक्ने र आफ्नो योगदानको सम्मान नपाउने वातावरणमा काम गर्न असहज भएको छ । म आफैँ पनि यही कुरा भन्छु – म कसैको धम्की वा दबाबले चुप लाग्ने व्यक्ति होइन । तर पार्टीभित्र अहिले विवेकलाई बन्धक (Hostage) बनाउने प्रवृत्ति छ । ‘जबज’ लाई गायत्री मन्त्र जस्तो बनाएर राख्ने तर दैनिक व्यवहार र निर्णय प्रक्रियामा लागू नगर्ने हो भने यस्तै हुन्छ ।

कार्यविभाजनका हिसाबमा पनि केपी ओली र नेतृत्वले पत्याएको व्यक्ति हुनुहुन्थ्यो । अहिले किन एकाएक गायब हुनुभयो ? सक्रिय देखिनुभएको छैन नि?

होइन, म त्यो व्यक्तिसँग निकट छु भन्ने होइन । मलाई टाढा भयो भन्ने पनि होइन । म सधैँ आन्दोलनसँग जोडिएर आएकी व्यक्ति हुँ । केपी ओलीसँगको सम्बन्धलाई लिएर भन्नुपर्दा, उहाँसँग मेरो विशेष निकटता वा दूरी दुवै बढेको छैन । म विद्यार्थी कालदेखि ३७ वर्षदेखि आन्दोलनमा जोडिएकी छु । उहाँ जेलमा हुनुहुन्थ्यो, म बाहिर काम गरिरहेको थिएँ ।

हाम्रो कामको क्षेत्र फरक थियो । ट्रेड युनियन, महिला आन्दोलन, अन्तर्राष्ट्रिय सम्बन्ध र महिला नेतृत्व विकासमा म बढी केन्द्रित थिएँ । मैले पार्टीमा धेरै जिम्मेवारी सम्हालेकी छु – संविधानसभा सदस्यको रूपमा आधारभूत अधिकार समिति सभापति, राष्ट्रिय महिला आयोगको स्थापना कालमा सदस्य, पार्टीको महिला विभागको सचिव लगायत । संविधान निर्माणका बेला लैङ्गिक दृष्टिकोणबाट धेरै काम गरेँ । तर अहिले म बाहिरबाट काम गरिरहेको छु । मलाई अहिले लेखन र इतिहास दस्तावेजीकरणमा बढी समय लागिरहेको छ । नेपाली महिलाको राजनीतिक योगदानको इतिहास दस्तावेजीकरण गर्नुपर्ने आवश्यकता देखेकी छु । त्यसमा व्यस्त छु ।

निर्वाचनमा यति ठूलो हार किन भयो? मुख्य कारण के हो?

हालको निर्वाचनमा भएको सर्मनाक हारको मुख्य कारण नै नेतृत्वको शैली, टिकट वितरणमा व्यक्तिवाद र जनभावना बुझ्न नसक्नु हो । पुरानै नेतृत्व दोहोरिँदा यो दोहोरिने खतरा छ । एमालेले जनताको भावना बुझ्न सकेन । सङ्गठनात्मक तयारी कमजोर भयो । हेलिकोप्टरबाट आउने शैलीले जनतासँगको दूरी बढायो । टिकट वितरणमा व्यक्तिगत निर्णय र भेदभाव (Discrimination) भयो । ‘मिसन ग्रासरुट’ जस्ता कार्यक्रम गरे पनि सुझावहरूलाई सुनेनौँ । ‘जबज’ लाई सिद्धान्तमा मात्र सीमित राख्यो, व्यवहारमा लागू गरेनौँ । व्यक्तिगत लोकप्रियता भए पनि संस्थागत संरचनाको कमजोरीले ठूलो क्षति पुर्‍यायो ।

यहाँको पार्टीमा यति धेरै नेताहरू नैतिक रूपमा आचरणका लागि विवादित छन् । भ्रष्टाचार, अनैतिक कार्य, व्यक्तिगत स्वार्थ र आचरण सम्बन्धी आरोपहरू बारम्बार लागिरहन्छन् । पार्टीले यस्ता भार बोक्न मिल्छ ?

यो प्रश्न अत्यन्तै महत्त्वपूर्ण छ र म यसलाई इमानदारीपूर्वक स्वीकार गर्छु । हामी नेकपा (एमाले) जस्तो कम्युनिष्ट पार्टी हौँ, जसले सिद्धान्ततः इमानदारी, नैतिकता, सुशासन, जनसेवा र भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गर्नुपर्ने हो । तर वास्तविकतामा पार्टीभित्र र नेतृत्व तहमा नैतिक आचरणको प्रश्न बारम्बार उठिरहेको छ । यो हाम्रो ठूलो कमजोरी हो, यसलाई लुकाउनु हुँदैन ।

जनताले हामीलाई हेर्दा ‘के यिनीहरू नैतिक रूपमा कमजोर भएका हुन्?’ भन्ने प्रश्न उठिरहेको छ, जसले पार्टीको छविलाई ठूलो क्षति पुर्‍याइरहेको छ । मैले पार्टीभित्र केही मुद्दाहरूमा स्पष्ट असहमति राखेकी छु । सबैभन्दा ठूलो उदाहरण हो — पार्टी मुख्यालय निर्माणका लागि एक विवादित व्यवसायीबाट ठूलो रकमको दान लिने निर्णय । यो निर्णय व्यक्तिगत होइन, सामूहिक थियो तर गलत थियो ।

पार्टीले यस्तो ठूलो संरचना बनाउँदा जब विवादित स्रोतबाट पैसा लिन्छ, तब नैतिक प्रश्न उठ्छ । जनताले सोध्छन् — ‘के यो भ्रष्टाचार होइन? के पार्टीको नैतिक उचाइ यति घटिसकेको छ?’ मैले यो कुरा पार्टीभित्र र बाहिर पनि उठाएकी थिएँ । तर त्यसपछि मलाई ‘असन्तुष्ट’ को सूचीमा राखियो ।

एमाले अब कसरी अघि बढ्छ? पार्टीले भविष्यमा कस्तो रणनीति अपनाउनुपर्छ? पुनरुत्थानका लागि के गर्न आवश्यक छ ?

एमाले अब पुरानै शैली र पुरानै नेतृत्वमा अघि बढ्न सक्दैन । यदि हामीले गम्भीर आत्मसमीक्षा, नेतृत्व परिवर्तन र आन्तरिक पुनर्संरचना गरेनौँ भने पार्टी झन् कमजोर हुँदै जान्छ । हामीले निर्वाचनमा ठूलो हार व्यहोरेका छौँ । यो हार ओलीजीको व्यक्तिगत मात्र होइन, सचिवालयको सामूहिक गल्ती हो । जनताको भावना बुझ्न नसक्नु, सङ्गठनात्मक तयारी कमजोर हुनु, हेलिकोप्टर संस्कृति र जनतासँगको दूरी मुख्य कारण हुन् । अब यसबाट सिकेर नयाँ बाटो लिनुपर्छ ।

पुराना अनुहारहरू अब रोल मोडेल (Role model) बन्न सकेका छैनन् । हामीले पार्टी बनाउँदा तल्लो तहबाट कष्टकर जीवन बिताएर, जेलनेल खाएर, सङ्घर्ष गरेर बनाएका थियौँ । तर अहिले नेतृत्व तहका साथीहरू आरामदायी र व्यक्तिगत सुखभोगमा रमाउन थाल्नुभएको छ । नेतृत्व परिवर्तन गर्न ढिलो भइसकेको छैन, तर अब ढिलो गर्नु हुँदैन । केपी ओलीजस्ता योगदान दिएका नेताले अब सम्मानजनक अभिभावकीय भूमिकामा बस्नुपर्छ र नयाँ पुस्तालाई कार्यकारी नेतृत्व हस्तान्तरण गर्नुपर्छ । सुहाङ नेम्वाङ, रचना खड्का, योगेश भट्टराई, प्रदीप ज्ञवाली जस्ता नयाँ अनुहारहरूलाई अवसर दिनुपर्छ ।

एमालेमा नेतृत्व परिवर्तन आवश्यक छ कि छैन ?

नेतृत्व परिवर्तन एकदमै धेरै आवश्यक छ । यदि हामीले यो नेतृत्व परिवर्तन गरेनौँ भने पार्टी कमिटी र सङ्गठन दिगो रूपमा टिक्न सक्दैन । निर्वाचनपछि पनि यदि हामीले नेतृत्व परिवर्तन गरेनौँ भने पार्टीको अवस्था झन् कमजोर हुँदै जान्छ । पुराना अनुहारहरू अहिले रोल मोडेल (Role model) बन्न सकेका छैनन् ।

हामीले पार्टी बनाउँदा तल्लो तहबाट कष्टकर जीवन बिताएर, सजिलै बस्ने अवस्थामा नभई सङ्घर्ष गरेर बनाएका थियौँ । तर अहिले नेतृत्व तहका साथीहरू आरामदायी जीवन बिताइरहनुभएको छ । जनताले सुन्ने, जनतासँग जोडिने र जनताको भावना बुझ्ने काममा कमी आएको छ । व्यक्तिगत लोकप्रियताले मात्र पार्टी चल्दैन ।

संस्थागत संरचना बलियो बनाउन नेतृत्वको पुस्तान्तरण जरुरी छ । केपी ओली समूहमा सीमित व्यक्तिहरूको प्रभाव बढी भएको र सामूहिक निर्णय प्रक्रिया कमजोर भएको उनको ठहर छ । हेलिकोप्टरबाट आउने शैलीले, जनताको दैनिक समस्या बुझ्न नसक्ने प्रवृत्तिले पार्टी जनताबाट टाढिएको छ ।

नयाँ पुस्तालाई जस्तै सुहाङ नेम्वाङ, रचना खड्का लगायतका व्यक्तिहरूलाई अवसर दिएर नयाँ सोच र ऊर्जा भित्र्याउनुपर्छ । जनताको बहुदलीय जनवाद (जबज) लाई गायत्री मन्त्र जस्तो बनाएर राख्ने तर व्यवहारमा लागू नगर्ने प्रवृत्तिले पनि पार्टी कमजोर भएको छ ।

बालेन शाहको नेतृत्वमा बनेको सरकारसँग तपाईं कति आशावादी हुनुहुन्छ? उहाँको सरकारले के गर्न सक्छ भन्ने लाग्छ?

मलाई लाग्छ, अहिलेको सरकार (राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको बालेन शाहको सरकार) प्रति जनतामा ठूलो आशा र अपेक्षा छ । किनकि पुराना दलहरूको विकल्प खोज्दै जनताले ठूलो मत दिएर यो सरकार बनाएका हुन् । यो सरकार पूर्ण रूपमा असफल हुन्छ भन्ने होइन, तर पूर्ण रूपमा सफल पनि हुन्छ भन्नेमा ढुक्क छैन । जनताले परिवर्तन चाहेका छन् ।

उनीहरूले भ्रष्टाचार, ढिलासुस्ती, व्यक्तिवाद र पुरानो शैलीबाट मुक्ति चाहेका छन् । बालेन शाह युवा, ऊर्जावान् र नयाँ सोच भएको व्यक्ति हुनुहुन्छ । उहाँको काठमाडौं महानगरपालिकाको अनुभवले केही राम्रा काम गर्न सक्ने आधार दिएको छ । तर प्रधानमन्त्रीको जिम्मेवारी अझ ठूलो र जटिल छ । जनताले ठूलो आशा गरेका छन् । यो सरकार असफल भयो भने फेरि पुराना दलहरूप्रति वितृष्णा बढ्न सक्छ । तर म पूर्ण आशावादी छैन ।

किनकि: राजनीतिक अनुभवको अभाव छ । नयाँ पार्टी र नयाँ नेतृत्वले जटिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू सजिलै सम्हाल्न सक्छन् भन्ने ग्यारेन्टी छैन । सुकुम्बासी समस्या जस्ता संवेदनशील मुद्दाहरूमा उहाँहरूले जुन शैली अपनाउनुभएको छ, त्यसले जनताको ठूलो वर्गमा असन्तुष्टि बढाएको देखिन्छ । राम्रो काम गर्दा पनि सञ्चार, व्यवस्थापन र जनतासँगको सम्बन्धमा कमजोरी देखिन सक्छ । पुराना दलहरू धेरैले विरोध गर्नेछन्, त्यसलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुन्छ ।

Logo