एसईईपछिको अन्योलः के भन्छ विद्यार्थीको कुण्डली र ग्रहको चाल ?

एसईईपछिको अन्योलः के भन्छ विद्यार्थीको कुण्डली र ग्रहको चाल ?

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात् १० कक्षा उत्तीर्ण गरेपछि प्रत्येक विद्यार्थी र अभिभावकको मानसपटलमा एउटै प्रश्नले प्राथमिकता पाउने गर्छ- अब कुन विषय पढ्ने ? विज्ञान, व्यवस्थापन, मानविकी वा सूचना प्रविधि ? आजको प्रतिस्पर्धात्मक युगमा यो निर्णय केवल शैक्षिक योग्यता हासिल गर्नका लागि मात्र नभई भविष्यको करियर, आर्थिक समृद्धि र मानसिक सन्तुष्टिको आधार स्तम्भ पनि हो।

यही गम्भीर विषयलाई लिएर प्रख्यात अंकज्योतिष, वास्तुविद् एवं नाडी ज्योतिष विशेषज्ञ डा. प्रकाश पौडेलले विशेष विश्लेषण प्रस्तुत गरेका छन् । उनका अनुसार समाजको दबाब, साथीभाइको लहलहै वा अभिभावकको अधुरो सपना पूरा गर्नका लागि मात्र विषय छनोट गर्दा विद्यार्थीले पछि गएर मानसिक तनाव र करियरमा असफलता भोग्नुपर्ने हुन सक्छ।

वैदिक ज्योतिष शास्त्रले शिक्षा र करियरलाई व्यक्तिको जन्मकुण्डलीमा रहेका ग्रहहरूको प्रभावसँग जोडेर हेर्ने गर्दछ। डा. पौडेलका अनुसार कुण्डलीको चौथो भावले आधारभूत शिक्षाको जग बसाल्छ भने पाँचौँ भावले विद्यार्थीको वास्तविक बुद्धि र प्रतिभालाई उजागर गर्छ। त्यसैगरी, उच्च शिक्षाका लागि नवौँ भाव र भविष्यको कार्यक्षेत्रका लागि दशौँ भावको सूक्ष्म अध्ययन अनिवार्य हुन्छ।

डा. पौडेलको विश्लेषण अनुसार, यदि विद्यार्थीको कुण्डलीमा सूर्य र मंगल बलियो छन् भने उनीहरूमा प्रशासनिक नेतृत्व लिने वा इन्जिनियरिङ र प्राविधिक क्षेत्रमा अब्बल हुने क्षमता हुन्छ। यस्ता विद्यार्थीले रक्षा सेवा वा मेडिकल उपकरणको क्षेत्रमा पनि राम्रो प्रगति गर्न सक्छन्। अर्कोतर्फ, बुध ग्रहको राम्रो प्रभाव भएका विद्यार्थीहरू व्यवस्थापन, बैंकिङ, चार्टर्ड एकाउन्टेन्सी सीए वा आईटी जस्ता तार्किक र गणनात्मक क्षेत्रमा सफल हुने देखिन्छ।

कुन ग्रहको प्रभाव कस्तो ?

शिक्षण, कानुन र अनुसन्धान जस्ता बौद्धिक क्षेत्रमा लाग्न चाहनेहरूका लागि गुरु (बृहस्पति) को अनुकूलता आवश्यक पर्छ। त्यस्तै, फेसन डिजाइनिङ, मिडिया, संगीत वा सिर्जनात्मक कलामा रुचि राख्नेहरूका लागि शुक्र र चन्द्रमाको स्थिति बलियो हुनुपर्छ। डा. पौडेलका अनुसार यदि कुनै विद्यार्थीको कुण्डलीमा शनि प्रभावी छ भने उनीहरूले मेकानिकल, उद्योग वा खानी जस्ता क्षेत्रमा ढिलो तर स्थायी सफलता प्राप्त गर्दछन्।

ज्योतिषीय विश्लेषणमा केवल लग्न कुण्डली मात्र पर्याप्त नहुने डा. पौडेलको तर्क छ। उनका अनुसार शिक्षाको वास्तविक गहिराइ नाप्न चतुर्विंशांश कुण्डलीको अध्ययन अपरिहार्य छ। यसबाट विद्यार्थीले कुन विषयमा छात्रवृत्ति पाउन सक्छ, वैदेशिक अध्ययनको योग कस्तो छ र अध्ययनको क्रममा के–कस्ता अवरोधहरू आउन सक्छन् भन्ने कुराको पूर्वजानकारी प्राप्त गर्न सकिन्छ।

ज्योतिष शास्त्र अनुसार सही विषय छनोट केवल अंक, समाज वा दबाबका आधारमा होइन, विद्यार्थीको आन्तरिक रुचि, मानसिक क्षमता र ग्रहहरूको अनुकूलताको तालमेल मिलेमा मात्र करियरले सही दिशा लिन सक्छ। सही मार्गनिर्देशनले विद्यार्थीलाई भविष्यमा बोझ होइन, आत्मसन्तुष्टि दिने करियरतर्फ डोर्‍याउँछ।

Logo