धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दल नेता राजेन्द्र सिंह रावलले आत्मालोचना गरेपछि आन्तरिक विवाद तत्कालका लागि सुल्झिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका सबै प्रदेशसभा सदस्यलाई गुण्डुस्थित निवासमा बोलाएर विवादबारे छलफल गरेका थिए । २३ बैशाखमा पहिलो चरणमा प्रदेश सांसदहरूसँग र त्यसपछि उपमहासचिव लेखराज भट्ट, प्रदेश संयोजक गणेश ठगुन्ना, अध्यक्ष कृष्णप्रसाद जैशी र दलका नेता रावल लगायतसँग पनि छुट्टाछुट्टै संवाद गरेका थिए ।
छलफलका क्रममा रावलले आफ्नो कार्यशैली र व्यवहारबारे उठेका प्रश्नमा आत्मालोचना गर्दै आगामी दिनमा सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार रावलले आफूबाट बोली वा व्यवहारका कारण असहज महसुस भएको भए क्षमा दिन आग्रह गरेका थिए ।
अध्यक्ष ओलीले रावललाई संसदीय दलभित्र सबै सांसदलाई एकताबद्ध बनाएर अघि बढ्न निर्देशन दिएका छन् । सरकार पुनर्गठनको विषयमा भने अन्य नेताहरूसँग परामर्श गरेर निर्णय लिने संकेत दिएको नेताहरूले बताएका छन् ।
रावललाई दलको नेताबाट हटाउनुपर्ने मागसहित उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल र सांसद दमन भण्डारीले अध्यक्ष ओली तथा महासचिव शंकर पोखरेलसँग छुट्टाछुट्टै छलफल गरेका थिए । तर गुण्डुमा भएको छलफलमा भने उनीहरूले नेतृत्व परिवर्तनभन्दा सरकार पुनर्गठनमा बढी जोड दिएको बताइएको छ ।































प्रतिक्रिया