तेहरान । इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई ९० प्रतिशत शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीचको युद्धविरामलाई ‘व्यापक जीवनको क्षति हुनबाट जोगाउने’ कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले उक्त टिप्पणी गरे ।
“अर्को आक्रमण भएको खण्डमा इरानको विकल्पहरू मध्ये एक ९० प्रतिशत (युरेनियम) संवर्धन हुन सक्छ। हामी संसदमा यसको समीक्षा गर्नेछौँ,” रेजाईले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीले देशको आणविक प्रविधि र युरेनियम संवर्धनमा कुनै सम्झौता गर्न नसकिने बताएका छन् ।
फेब्रुअरी २८ मा तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको ४० दिनको लडाइँपछि इरान, संयुक्त राज्य अमेरिका र इजरायलले अप्रिल ८ देखि युद्धविराम घोषणा गरेका छन् ।
युद्धविरामपछि इरानी र अमेरिकी प्रतिनिधिमण्डलहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको राजधानी इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका थिए, तर त्यसमा सहमति हुन सकेन।


















