काठमाडौं । दुई दिने भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजधानी बेइजिङ पुगेका छन् । बीबीसी अनुसार समकक्षी सी चिनफिङसँगको उच्चस्तरीय शिखर वार्ताका लागि एयरफोर्स वनबाट बेइजिङमा ओर्लिएका हुन् ।
ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले भव्य स्वागत गरेका छन् । यसअघि ट्रम्पलाई चीनले हानभन्दा तल्लो वरीयताका नेताबाट स्वागत गरेको थियो । यसपटकको उनको स्वागत उच्च तहको नेताबाट हुनुलाई ट्रम्पले विशेष महत्त्व दिएको रूपमा बुझिएको बीबीसीले उल्लेख गरेको छ ।
दुईदिने भ्रमणमा उनले भन्सार शुल्क, प्रविधि, इरान युद्ध तथा ताइवान मामिलाबारे छलफल गर्ने बताएको छ । मध्यपूर्वमा अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानका कारण आलोचना र विवाद बढिरहेका बेला उनी चीन पुगेका हुन् । यो भ्रमण मार्चमा तय भएको थियो । इरान युद्धका कारण उक्त भ्रमण धकेलिएको थियो ।
ट्रम्प छोरा इरिक, व्यापारी एलन मस्क, टीम कुक, ल्यारी फिंक, केली अटवर्गसहित चीन पुगेका हुन् । बेइजिङ उड्नुअघि ट्रम्पले ट्रुथमा असाधारण क्षमताका नेताका रूपमा सीको प्रशंसा गरेका थिए । ”क्षमतावान् सीको नेतृत्वमा जनवादी गणतन्त्र चीन अझै उच्च तहमा पुगोस् मेरो चाहाना छ,” उनले ट्रुथमा उल्लेख गरेका छन् ।
पछिल्ला वर्षमा दुई देशबीचको सम्बन्ध चिसिएको अवस्थामा उच्चस्तरीय भेट हुन लागेको हो । दुई मुलुकबीच व्यापार टकराबका कारण सिर्जित विभिन्न प्रतिबन्धले सम्बन्धमा दरार आएको थियो ।
गत वर्ष दुई देशबीचको व्यापार ४१४.७ अर्ब डलरमा सीमित भएको थियो । यो २०२२ को तुलनामा उल्लेखनीय गिरावट हो । त्यसबखत दुई देशबीचको व्यापार ६९०.४ अर्ब डलर थियो ।
भ्रमणबाट ट्रम्पले चीनसँगको व्यापार घाटा कम गर्ने लक्ष्य पनि राखेको बताइएको छ । गत वर्ष अमेरिकाले चीनबाट २०० अर्ब डलरभन्दा बढी मूल्यको वस्तु आयात गर्दा निर्यातको अवस्था निकै न्यून थियो ।
व्यापारतर्फ ट्रम्पले चीनबाट अमेरिकी कृषि उत्पादनको खरिद बढाउन पहल गर्ने अपेक्षा गरिएको छ । यता, बेइजिङले भने चिनियाँ वस्तुमाथिको अमेरिकी भन्सार शुल्क घटाउन आग्रह गर्ने संभावना रहेको बीबीसीले उल्लेख गरेको छ ।
छलफलमा इरान युद्ध अन्त्य पनि केन्द्रविन्दुमै रहनेछ । चीन इरानी तेलमा अत्यधिक निर्भर छ । होर्मुजमा अवरोधका कारण चीनको तेल आपूर्तिमा दबाब परिरहेकाले युद्ध अन्त्य पनि छलफलको केन्द्रमा पर्ने बीबीसीले उल्लेख गरेको छ । इरानमाथि आफ्नो आर्थिक तथा राजनीतिक प्रभावको प्रयोग गर्नुपर्ने मत अमेरिकाले व्यक्त गर्दै आएको छ ।
चीन प्रस्थानअघि राष्ट्रपति ट्रम्पले वासिंटनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त संवाद गरेका थिए । उनले इरान युद्ध अन्त्यबारे कसैको सहयोग आवश्यकता नरहेको बताए । यद्यपि सीसँग छलफल हुने उनको भनाइ थियो ।
यस भेटवार्तामा ताइवानको विषय पनि छलफल हुने बीबीसीले उल्लेख गरेको छ । ताइवानसँग ठूलो हतियार निर्यात सम्झौता गरेको अमेरिकाले चिनियाँ आक्रमण भए ताइवानको प्रतिरक्षाबारे कम महत्त्व दिँदै आएको छ ।


















