काठमाडाैं । चिनियाँ राष्ट्रपति सी चिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ताइवानको मुद्दामा गम्भीर चेतावनी दिएका छन्। बेइजिङमा बिहीबार भएको दुई देशका शीर्ष नेताहरूको बहुप्रतिक्षित शिखर वार्तामा सीले ताइवान मामिलालाई उचित ढंगले सम्बोधन नगरिए दुई महाशक्ति राष्ट्रबीच ‘टकराव’ र ‘द्वन्द्व’ हुन सक्ने स्पष्ट पारेका हुन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले सीलाई महान् नेता र मित्र भन्दै प्रशंसा गरिरहँदा, चिनियाँ पक्षबाट आएको यो चेतावनीले दुई देशबीचको सम्बन्धमा रहेको गहिरो मतभेदलाई सतहमा ल्याइदिएको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सामाजिक सञ्जालमार्फत जानकारी दिएअनुसार, राष्ट्रपति सीले ताइवानलाई चीन-अमेरिका सम्बन्धको सबैभन्दा महत्वपूर्ण र संवेदनशील मुद्दाका रूपमा व्याख्या गरेका छन्। “यदि यो मुद्दा सही रूपमा सम्बोधन गरियो भने द्विपक्षीय सम्बन्ध स्थिर रहनेछ। अन्यथा, दुई देशबीच संघर्ष र द्वन्द्व हुन सक्छ, जसले समग्र सम्बन्धलाई नै गम्भीर जोखिममा पार्नेछ,” सीले ट्रम्पलाई भनेका छन्।
चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ भने अमेरिकाले ताइवानलाई हतियार बिक्री र सुरक्षा सहयोग उपलब्ध गराउँदै आएको छ। ट्रम्प प्रशासनले हालै स्वीकृत गरेको ११ अर्ब डलरको हतियार प्याकेजप्रति चीनले कडा असन्तुष्टि जनाउँदै आएको छ।
भेटघाटका क्रममा राष्ट्रपति सीले अन्तर्राष्ट्रिय राजनीतिमा प्रचलित ‘थुसिडाइड्स ट्र्याप’को प्रसंग पनि उठाएका थिए। यो एउटा यस्तो धारणा हो, जसमा उदाउँदो शक्ति चीनले स्थापित शक्ति अमेरिकालाई विस्थापित गर्न खोज्दा प्रायः युद्धको स्थिति सिर्जना हुन्छ। सीले अमेरिका र चीनले यो ऐतिहासिक पासोबाट जोगिएर सहकार्यको नयाँ मोडल विकास गर्नुपर्नेमा जोड दिए।
‘ग्रेट हल अफ द पिपुल’ मा भएको दुई घण्टा लामो वार्तामा इरानमा जारी युद्ध र त्यसले विश्व अर्थतन्त्रमा पारेको प्रभावबारे पनि गहन छलफल भएको थियो। हर्मुज जलडमरू बन्द हुँदा तेलको मूल्य आकाशिएको र यसले अमेरिकी अर्थतन्त्रमा पारेको नकारात्मक असरप्रति ट्रम्पले चिन्ता व्यक्त गरेका छन्।
ह्वाइट हाउसका अनुसार, चीनले अमेरिकाबाट भटमास, मासु र विमानहरू खरिद गर्ने प्रतिबद्धता जनाउने सम्भावना छ। साथै, अमेरिकामा संकटको रूपमा रहेको ‘फेन्टानिल’ लागुऔषधको अवैध ओसारपसार नियन्त्रण गर्न चीनले थप सहयोग गर्ने सहमति भएको छ।
भ्रमणका क्रममा भव्य सैन्य सम्मान र सांस्कृतिक कार्यक्रमहरू गरिए पनि विज्ञहरूका अनुसार यो भ्रमण ठोस राजनीतिक उपलब्धिभन्दा बढी कूटनीतिक औपचारिकता र प्रतीकवादमा सीमित देखिएको छ। ताइवानको मुद्दामा चीनले कोरेको ‘रेड लाइन’ ले आगामी दिनमा वासिङ्टन र बेइजिङबीचको सम्बन्ध कस्तो हुनेछ भन्ने कुरा तय गर्ने निश्चित छ।


















