काठमाडौं,१९,पुस
केन्द्रविन्दु समाचारदाता
पूर्वडिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको छ। आइजिपी बढुवा सम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको सर्वोच्च अदालतको फैसलाका आधारमा प्रहरीले उनी माथि अनुसन्धान अघि बढाएको थियो। उनले पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कागज किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गरिसकेको महानगरीय प्रहरी प्रवक्ता एआइजी जयबहादुर चन्दले पुष्टि गरेका छन् । पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानै उपत्यका छाडिसकेका छन्। सिलवाल विरुद्ध गत पुस ५ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त भएका थिए।
डिआइजीको कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै किर्ते गर्नेहरुलाई कारबाहीको आदेश दिएको सर्वोच्चको फैसलाको पूर्णपाठसहितको पत्र गएपछि सिलवाल विरुद्ध जाहेरी दर्ता भएको थियो। सिलवाल विरुद्धको किर्ते मुद्दाको सम्बन्धमा पुस ३ गते सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, महान्यायाधिवक्ता बसन्तराज भण्डारी र प्रहरी महानिरीक्षक प्रकाश अर्याल बीच छलफल भएको थियो। छलफल पछि पुस ५ मा जाहेरी दर्ता भएको थियो।





























प्रतिक्रिया