प्रधानमन्त्रीमाथि हर्क साम्पाङको कटाक्ष- ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन’

प्रधानमन्त्रीमाथि हर्क साम्पाङको कटाक्ष- ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन’

केन्द्रबिन्दु
9
Shares

काठमाडौं | सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा अनुपस्थित प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले व्यङ्ग्यात्मक प्रहार गरेका छन्।

बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा साम्पाङले भने, “आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। यहाँ प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने ठाउँमा अरूलाई पठाएर जिम्मेवारीबाट पन्छिन मिल्दैन।”

उनले देश बनाउने कुरामा स्पष्ट दृष्टिकोण र इमानदारीको अभाव खट्किएको बताउँदै थपे, “इमानदारी छैन भने हामी कर्तव्य पूरा गर्न सक्दैनौँ। जब हामी आफ्नो कर्तव्य पूरा गर्दैनौँ, तब अधिकारको दाबी गर्ने अवस्था पनि रहँदैन।”

छलफलका क्रममा उनले संसद्को प्रभावकारितामाथि पनि प्रश्न उठाए। सरकारले संसद्लाई जीवन्त बनाउन नसकेको आरोप लगाउँदै उनले भने, “यहाँ काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भन्ने हिसाबले हामी चल्न सक्दैनौँ। नेपालीहरू गफ गर्नमा मात्र माहिर भयौँ, काममा होइन।” उनले आगामी दिनमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्नेमा आफूले अझै आशा राखेको बताए।

साम्पाङले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई हतारमा ल्याइएको र गहन छलफल नगरिएको भन्दै आलोचना पनि गरे। “नीति भनेको गन्तव्य हो र कार्यक्रम भनेको त्यहाँ पुग्ने बाटो हो,” उनले भने, “तर यहाँ त न नीतिको पत्तो छ, न कार्यक्रमको स्पष्टता। विषयगत समितिहरूलाई समेत उपेक्षा गरेर एक्लै अगाडि बढ्न खोज्दा समस्या जहाँको त्यहीँ छ।”

उनले रातभरि पढेर भोलिपल्टै निर्णय गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको भन्दै संसद्‌मा हुने छलफललाई औपचारिकतामा मात्र सीमित नराख्न सरकारलाई चेतावनी दिए।

Logo