काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले पन्जाब किंग्सलाई ६ विकेटको पराजित गरेको छ ।
उपाधी होडबाट बाहिरिएको मुम्बईले धर्मशालामा पन्जाबले प्रस्तुत गरेको २०१ रनको लक्ष्य एक बल बाँकी रहँदा चार विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईका तिलकले ७५ रनको इनिङ खेले । रायन रिकेल्टनले ४८, विल ज्याक्सले अविजित २५, रोहित शर्माले २५ र शर्फन रादरफोर्डले २० रन बनाए । पन्जाबका अज्मतुल्लाह ओमरजाइले दुई विकेट लिँदा अर्शदीप सिंह र युजवेन्द्र चहलले समान एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २०० रनको योफल तयार पारेको थियो । पन्जाबका ओपनर प्रभसिम्ररन सिंहले ५७ रनको इनिङ खेले । अजमतुल्लाह ओमरजाईले ३८, प्रियान्स आर्याले २२ र कुपर कोनोलीले २१ रन जोडे । जेभियर बार्टलेट १८ र विष्णु विनोद १५ रनमा अविजित रहे ।
मुम्बईका शार्दुल ठाकुरले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३९ रन खर्चिए । दीपक चहरले दुई विकेट हात पार्दा कर्बिन बोश र राज बावाको नाममा समान एक विकेट रह्यो ।
जितसँगै प्लेअफ दौडबाट बाहिरिसकेको मुम्बई १२ खेलमा आठ अंक जोडेर नवौँ स्थानमा छ । लगातार पाँचौँ हारसँगै १२ खेलमा १३ अंकका साथ पञ्जाब चौथो स्थानमा छ




















