भुर्तेलको शतकमा नेपालले हरायो अमेरिकालाई

भुर्तेलको शतकमा नेपालले हरायो अमेरिकालाई

केन्द्रबिन्दु
72
Shares

कीर्तिपुर । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा नेपालले सानदार प्रदर्शन गर्दै लिग तालिकाको शीर्ष दुईमा रहेको टोली अमेरिकालाई ९ विकेटले पराजित गरेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओपनर कुशल भुर्तेलको सानदार शतकीय इनिङ्सको मद्दतले नेपालले अमेरिकामाथि ऐतिहासिक जित दर्ता गरेको हो। अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले मात्र ३६.४ ओभरमा १ विकेट गुमाएर १९९ रन बनाउँदै ८० बल बाँकी छँदै सहजै पूरा गर्‍यो।

नेपालको जितका मुख्य नायक कुशल भुर्तेल रहे। उनले ११८ बलको सामना गर्दै १३ चौका र ४ छक्काको मद्दतले अविजित १२० रनको इनिङ्स खेले। उनी ओडीआईमा १५०० रन पूरा गर्ने चौथो नेपाली ब्याटर समेत बनेका छन्।

नेपाललाई बलियो सुरुवात दिलाउने क्रममा कुशल र आसिफ शेखबीच पहिलो विकेटका लागि १४५ रनको सानदार शतकीय साझेदारी भएको थियो। आसिफ शेख ७२ बलमा ८ चौकासहित ५८ रन बनाएर मोहम्मद मोहसिनको बलमा क्याच आउट भए। त्यसपछि क्रिजमा आएका इशान पाण्डेले ३० बलमा अविजित २० रन जोड्दै कुशलसँग मिलेर टोलीलाई जितको रेखा पार गराए।

यसअघि टस जितेर पहिले ब्याटिंग रोजेको अमेरिका ४३.३ ओभरमा १९५ रनमै अलआउट भएको थियो। अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक ८३ रन र शेहान जयसूर्याले ५० रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्।

अमेरिकालाई सस्तैमा समेट्न नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले घातक बलिङ गरे। उनले ७.३ ओभरमा मात्र २४ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए। त्यस्तै, सोमपाल कामीले २ विकेट तथा ललित राजबंशी, सन्दीप लामिछाने र गुल्सन झाले समान १-१ विकेट लिएर अमेरिकाको ब्याटिङ लाइनअप ध्वस्त पारेका थिए।

अमेरिकामाथि ९ विकेटको सानदार जित निकाले पनि नेपाल अंक तालिकाको सातौँ स्थानमा यथावत रहेको छ। अमेरिकाविरुद्ध प्राप्त ऐतिहासिक दुई अंकसँगै नेपालले आफ्नो खातामा २० अंक त पुर्‍याएको छ, तर छैटौँ स्थानको क्यानडालाई भेट्टाउन भने अझै १ अंकको दुरी बाँकी छ।

हालसम्म २६ खेल खेलेको नेपालले ९ खेलमा जित र १५ खेलमा हार व्यहोरेको छ भने दुई खेल विना नतिजा टुङ्गिएका छन्। ३० खेलबाट १६ जित र ८ हारसहित ३८ अंक जोडेर स्कटल्याण्ड तालिकाको शीर्ष स्थानमा छ। नेपालसँग पराजित भएको अमेरिका २६ खेलबाट १८ जित र ८ हारका साथ ३६ अंक बोकेर दोस्रो स्थानमा छ। लगातार दोस्रो हार व्यहोरे पनि अमेरिका शीर्ष स्थानको स्कटल्याण्डभन्दा मात्र २ अंकले पछि छ।

नेपालभन्दा माथि रहेको क्यानडा २४ खेलबाट २१ अंकका साथ छैटौँ स्थानमा छ भने नामिबिया २८ खेलबाट २२ अंक जोड्दै पाँचौँ स्थानमा रहेको छ। नेपालले आगामी खेलहरूमा आफ्नो विजयी यात्रालाई निरन्तरता दिन सके शीर्ष ४ भित्र रहँदै अगाडि बढ्ने बलियो सम्भावना छ।

Logo