काठमाडौं । इण्डियन प्रिमियर लिगअन्तर्गत रोयल च्यालेन्जर्स बेंगालुरुले पञ्जाब किंग्सलाई २३ रनले पराजित गरेको छ।
धर्मशालामा भएको रोमाञ्चक खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगालुरुले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२२ रनको विशाल योगफल तयार पारेको थियो। २२३ रनको लक्ष्य पछ्याएको पञ्जाब किंग्सले २० ओभरमा ८ विकेट गुमाएर १९९ रन मात्र बनाउन सक्यो। यो पञ्जाबको लगातार छैटौं हार हो ।
पहिले ब्याटिङ गरेको बेंगालुरुका लागि मध्यक्रमका ब्याटर वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ७३ रनको योगदान दिए। उनले मात्र ४० बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे। त्यसैगरी ओपनर विराट कोहलीले ३७ बलमा ४ चौका र ३ छक्काको मद्दतले ५८ रनको अर्धशतकीय इनिङ्स खेले।
टोलीका लागि देवदत्त पडिक्कलले २५ बलमा ४५ रन र टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै १२ बलमा २८ रन जोडे। पञ्जाबका लागि हरप्रीत ब्रारले दुई विकेट लिए भने अर्शदीप सिंह र युजवेन्द्र चहलले समान १-१ विकेट हात पारे।
विशाल लक्ष्य पछ्याउने क्रममा पञ्जाब किंग्सको सुरुवात निकै खराब रह्यो। प्रारम्भिक ब्याटर प्रियांश आर्य शून्य र प्रभसिमरन सिंह २ रनमा आउट भए। कप्तान श्रेयस अय्यर पनि मात्र १ रन बनाएर पेभिलियन फर्किएपछि टोली दबाबमा परेको थियो।
मध्यक्रममा कुपर कोनोलीले ३७ रन, सुर्यांश शेडगेले ३५ रन र मार्कस स्टोइनिसले ३७ रन बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरे। अन्तिमतिर शशांक सिंहले २७ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५८ रनको उत्कृष्ट इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
बेंगालुरुका लागि बलिङतर्फ रसिक सलामले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए। भुवनेश्वर कुमारले २ विकेट तथा जोश हेजलवुड, सुयश शर्मा र रोमारियो शेफर्डले १-१ विकेट लिँदै टोलीको जित निश्चित गरे।
हालसम्मको अङ्क तालिका अनुसार रोयल बेंगलुरु लिगको शीर्ष स्थानमा आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ। आरसीबीले हालसम्म खेलेका १३ खेलमध्ये ९ मा जित र ४ खेलमा हार ब्यहोर्दै १८ अङ्कसहित तालिकाको पहिलो स्थान सुरक्षित गरेको छ। तर तालिकाको चौथो स्थानमा पञ्जाब १३ खेलबाट १३ अङ्क (६ जित, ६ हार र १ अनिर्णित/रद्द) सहित संघर्ष गरिरहेको छ।




















