काठमाडाैं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग २०२६ को प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।
आइतबार धर्मशाला स्टेडियममा भएको खेलमा बेंगलुरुले घरेलु टोली पञ्जाब किंग्सलाई २३ रनले पराजित गर्दै प्लेअफको टिकट काटेको हो। यस जितसँगै बेंगलुरु तालिकाको शीर्ष दुईमा रहने सम्भावना खेल बलियो बनेको छ।
अर्कोतर्फ, पञ्जाब किंग्सको प्रदर्शन भने यो सिजन लगातार खस्कँदै गएको छ। लिग तालिकाको चौथो स्थानमा रहे पनि पञ्जाबको यो लगातार छैटौँ पराजय हो।
२२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पञ्जाबका लागि मध्यक्रमका ब्याटर शशांक सिंहले उत्कृष्ट प्रतिकार गरेका थिए। उनले मात्र २७ बलमा ५६ रनको विष्फोटक इनिङ्स खेल्दै टोलीलाई जितको नजिक पुर्याउने प्रयास गरे। तर, अन्तिम ओभरमा पञ्जाबलाई जितका लागि ३३ रन आवश्यक रहेकोमा उक्त रन बनाउन नसक्दा टोली १९९ रनमा समेटियो र २३ रनको हार ब्यहोर्न बाध्य भयो।
यसअघि १२ खेलमा ८ जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहेको बेंगलुरुले यो जितसँगै महत्वपूर्ण दुई अङ्क जोडेर प्लेअफमा आफ्नो स्थान पक्का गरेको छ। पराजित पञ्जाब किंग्सका लागि भने बाँकी खेलहरूमा जित निकाल्दै शीर्ष चारको दौडमा टिकिरहन अब निकै कठिन मोड आएको छ।




















