काठमाडौं । इरानको बन्दर अब्बासस्थित कारागारमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक अमृत झाको रिहाइको सम्बन्धमा पहिले सार्वजनिक भएको सूचना गलत पुष्टि भएको छ।
परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै झा अझै रिहा नभएको र पहिलेको गलत जानकारीबाट सिर्जना भएको अन्योलप्रति क्षमा मागेको हाे ।
के थियो घटना ?
अमृत झालाई सन् २०२६ को जनवरी महिनामा इरानको क्युएसएम टापुबाट अवैध सामान तस्करीको आरोपमा अन्य ६ जना विदेशी नागरिकसँगै इरानी सुरक्षाकर्मीले पक्राउ गरेका थिए। यो घटना इरान र अमेरिका–इजरायलबीच २८ फेब्रुअरी २०२६ मा द्वन्द्व सुरु हुनुभन्दा अगाडिको हो।
गत १५ अप्रिलमा इरानका लागि नेपाली मानार्थ वाणिज्यदूत शाहराम शान्तियले कतारस्थित नेपाली कार्यवाहक राजदूतलाई झा रिहा भएको भन्दै इमेल पठाएका थिए। सोही सूचनाका आधारमा परराष्ट्र मन्त्रालय र परराष्ट्र मन्त्रीले सामाजिक सञ्जालमार्फत झा रिहा भएको र नेपाल ल्याउने प्रक्रिया सुरु भएको जानकारी गराएका थिए।
मन्त्रालयका अनुसार केही दिनपछि मात्रै झा रिहा नभएको र मुद्दा अझै अदालतमा विचाराधीन रहेको तथ्य खुलेको थियो। “अनौपचारिक जानकारीका आधारमा रिहाइको सूचना सार्वजनिक हुँदा पर्न गएको असुविधाप्रति मन्त्रालय क्षमाप्रार्थी छ,” विज्ञप्तिमा भनिएको छ।
अहिलेको पछिल्लो अवस्थाबारे जानकारी दिँदै मन्त्रालयले बताएको छ कि इरानी अदालतले सो मुद्दामा ‘विज्ञ प्रतिवेदन’ माग गरेको छ। विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने अन्तिम तयारी गरिरहेको छ।
इरानको स्थानीय कानुनअनुसार मुद्दाको छिनोफानो हुने भए तापनि झाको निष्पक्ष सुनुवाइका लागि नेपाल सरकारले निरन्तर कूटनीतिक पहल गरिरहेको छ। यसबारे मन्त्रालयले झाका परिवारलाई प्रत्यक्ष भेटेर पछिल्लो वास्तविकताबारे जानकारी गराइसकेको छ। कतारस्थित नेपाली दूतावास र मानार्थ वाणिज्यदूत मार्फत उनको सुरक्षित रिहाइका लागि प्रयासहरू जारी राखिएको मन्त्रालयले जनाएको छ।





























प्रतिक्रिया