काठमाडौँ । भारतीय क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप खेल्ने आफ्नो इच्छा व्यक्त गरेका छन्।
हालै सञ्चारमाध्यमहरूसँग कुरा गर्दै कोहलीले आफू अझै पनि क्रिकेटको ठूलो मन्चमा भारतीय टोलीका लागि महत्त्वपूर्ण योगदान दिन सक्ने अवस्थामा रहेको महसुस गरेमा विश्वकप खेल्ने बताएका हुन्। उनले आफ्नो भविष्य र २०२७ को मार्गचित्रबारे स्पष्ट पारेका छन्। ३७ वर्षीय कोहलीले टोली व्यवस्थापन र चयनकर्ताहरूले आफूमाथि विश्वास कायम राखेको खण्डमा आफू देशका लागि मैदानमा उत्रन तयार रहेको बताए। तर, उनले एउटा सर्त पनि अघि सारेका छन्— उनले बारम्बार आफ्नो क्षमता प्रमाणित गरिरहनुपर्ने दबाबपूर्ण परिस्थितिमा रहेर खेल्न नचाहेको प्रस्ट पारेका छन्।
“यदि म खेलिरहेको छु भने म भारतका लागि विश्वकप खेल्न चाहन्छु। तर, सबैभन्दा महत्त्वपूर्ण कुरा म टोलीका लागि ठोस योगदान दिन सक्ने अवस्थामा हुनुपर्छ,” कोहलीले भनेका छन्।
स्मरण रहोस्, विराट कोहलीले यसअघि नै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् र अहिले उनी मुख्यतया टेस्ट र एकदिवसीय संरचनामा केन्द्रित छन्। सन् २०११ को विश्वकप विजेता टोलीका सदस्य रहेका कोहलीले एकदिवसीय क्रिकेटमा झन्डै १५ हजार रन पुरा गरिसकेका छन्, जसले उनलाई आधुनिक क्रिकेटको ‘लिजेन्ड’ को रूपमा स्थापित गरेको छ।
सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ । कोहलीको यो भनाइले उनका विश्वभरका फ्यानहरूमा उत्साह जगाएको छ । यदि कोहली २०२७ को टोलीमा समावेश भएमा, त्यो उनको करियरको अर्को एउटा ऐतिहासिक अध्याय हुने निश्चित छ।































प्रतिक्रिया