काठमाडौं । नेपाललाई एक अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्ने र स्नातकहरूको शैक्षिक योग्यता तथा कार्यस्थलको दक्षताबीचको खाडल कम गर्ने उद्देश्यका साथ ललितपुरको होटल हिमालयमा ‘स्टडी इन नेपाल एण्ड ट्रान्सनेशनल एजुकेशन फोरम २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।
ग्लोकल प्रालिको आयोजना तथा काठमाडौँ विश्वविद्यालय, युनेस्को, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको साझेदारीमा आयोजित यस कार्यक्रमले नेपालको उच्च शिक्षामा नीतिगत सुधार र विश्वव्यापी मापदण्डका बारेमा वृहत् छलफल गरेको छ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ग्लोकल प्रालिका अध्यक्ष आशिष ठाकुरले नेपालको आर्थिक र शैक्षिक स्थितिलाई सुधार गर्न ‘ज्ञानमा आधारित अर्थतन्त्र’ निर्माण गर्नुपर्नेमा जोड दिए । वर्तमान समयमा विद्यार्थीहरूको बौद्धिक र आर्थिक पलायन (ब्रेन ड्रेन) एक मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले भने, “नेपाल श्रम र पर्यटनमा मात्र सीमित नभई अब ज्ञान, अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट विश्वलाई योगदान दिने मुलुक बन्नुपर्छ।”
उनले नेपालमा ट्रान्सनेशनल एजुकेशनको बलियो सम्भावना रहेको र करिब ५६ प्रदायकहरूले ३४,००० भन्दा बढी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिइरहेको तथ्याङ्क प्रस्तुत गरे ।
कार्यक्रमको पहिलो प्यानल छलफलमा नेपाललाई क्षेत्रीय शैक्षिक केन्द्र बनाउने विषयमा केन्द्रित थियो। यस सत्रमा नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन, अष्ट्रेलियाली दूतावासका डेपुटी हेड अफ मिसन ग्रेग क्लेम, र त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. महानन्द चालिसे लगायतले भाग लिएका थिए । वक्ताहरूले नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू आकर्षित गर्न पारदर्शी ‘क्रेडिट ट्रान्सफर’, व्यवस्थित नियामक ढाँचा र गुणस्तर सुनिश्चिततामा सुधार हुनुपर्ने धारणा राख्नुभयो। शिक्षा मन्त्रालयका उपसचिव परशुराम तिवारीले टिएनईको अवधारणालाई प्रवर्द्धन गर्न सरकारले गरिरहेको सहयोगबारे जानकारी दिए ।
कार्यक्रमको समापन सत्रमा एक महत्वपूर्ण उपलब्धिको रूपमा ‘संयुक्त नेतृत्व समिति’ गठनको घोषणा गरियो। ग्लोकल प्रालिकी प्रबन्ध निर्देशक काजोल झाले यस समितिको मुख्य काम फोरममा उठेका विषयहरूलाई राष्ट्रिय नीतिमा रूपान्तरण गर्न पहल गर्ने रहेको बताए । उनले ‘स्टडी इन नेपाल’ केवल एक नारा मात्र नभई यो एक दीर्घकालीन राष्ट्रिय दिशा भएको र यसले नेपालको प्राचीन शैक्षिक विरासतलाई पुनर्जीवित गर्ने लक्ष्य राखेको बताए ।
टाइम्स हायर एजुकेशनका एशले मोक, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिकेश वाग्ले लगायतका विज्ञहरूको सहभागिता रहेको यस फोरमले नेपालको उच्च शिक्षा क्षेत्रका लागि एक स्पष्ट मार्गचित्र तय गरेको छ।































