काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।
मंगलबार राती जयपुरस्थित सवाई मानसिंह रंगशालमा लखनउले प्रस्तुत गरेको २२१ रनको लक्ष्य घरेलु टोली राजस्थानले पाँच बल बाँकी रहँदा तीन विकेट गुमाएर पूरा गर्यो । राजस्थानका वैभव सूर्यवंशीले ९३ रनको उत्कृष्ट इनिङ खेले । उनले ३८ बलमा १० छक्का र सात चौका प्रहार गरे ।
धुव्र जुरेल ५३ रनमा अविजित रहे । उनले ३८ बलमा समान तीन चौका र छक्का प्रहार गरे । कप्तान यशस्वी जैसवालले ४६ र डोनोभान फरेराले अविजित १६ रन जोडे ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२० रनको योगफल खडा गरेको थियो । लखनउका मिचेल मार्शले ९६ रनको उत्कृष्ट इनिङ खेले । उनले ५७ बलमा ११ चौका र पाँच छक्का प्रहार गरे ।
जोस इंग्लिसले ६० रन जोडे । उनले २९ बलमा सात चौका र तीन छक्का प्रहार गरे । कप्तान ऋषभ पन्तले ३५ र निकोलस पुरनले १६ रन बनाए । राजस्थानका यशराज पुञ्जले दुई र जोफ्रा आर्चरले एक विकेट लिए ।
जितसँगै १३ खेलमा १४ अंक जोडेर चौथो स्थानमा उक्लिएको राजस्थानले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ । पराजित लखनउ समान खेलबाट आठ अंकका साथ पुछारमा छ ।































प्रतिक्रिया