बाजुरा, १४, पुस
कर असुली नीति प्रभावकारी नहुँदा कतिपय व्यवसायीले कर छल्ने गरेका छन् । आर्थिक रुपमा कमजोर भएकाले साना व्यवसायी कर तिर्न नसक्ने अवस्थामा छन् । बाजुरामा विभिन्न व्यापार गर्दै आएका सयौँ व्यवसायीले सरकारका कारण कर तिर्न नसकेको गुनासो गरेका छन् । कर बुझाउन चाहनेले समेत कर तिर्न सकेका छैनन् । राजश्व बुझाउने कार्यालय छैन, स्थानीय व्यापारी बलबहादुर रोकायाले भने, “वर्षभरिको कर २५ हजार देखि ३५ हजार हुन्छ । कर तिर्न धनगढी जानुपर्छ ।” रोकायाले बाजुराका व्यापारीले २५ हजार कर तिर्न ५० हजार देखि ६० हजार खर्च गरी धनगढी जानुपर्ने बाध्यता भएकाले समस्या भएको बताए ।
जिल्लामा अनुमति प्राप्त मदिरा व्यवसायी बाहेक अन्य कुनै ठाउँबाट कर उठ्ने गरेको छैन । जिल्लामा भ्याट बिल र दर्ता भए नभएको अनुगमन कार्य प्रभावकारी नभएकाले पनि कर असुली हुन नसकेको हो । जिल्लाका अधिकांश निजी स्कुलले कर नतिरेको पाइएको छ । जिल्लामा कर कार्यालयको व्यवस्था गरी कर असुली गर्न व्यवसायीको सुझाव रहेको छ । व्यवसायी मात्र हैन गैरसरकारी संस्था समेत कर तिर्न कहाँ जाने समस्यामा छन् ।
आर्थिक वर्षको अन्त्यमा कर बुझाइ सक्नु पर्ने प्रावधान छ । बाजुराका संघसंस्थाले असोज र कात्तिक तिर कर तिर्ने गरेका छन् । “वर्षमा ५० हजारको कारोबार गर्दै आएको असल शासन क्लब संस्थाका अध्यक्ष प्रदीपराज जोशीले धनगढी पुगेर आन्तरिक राजश्व कार्यालयमा संस्था नवीकरण गर्न २० हजार खर्च हुने बताए । उनले भने, “जिल्लामै कर कार्यालय भएको भए तीन हजार देखि चार हजारमा नवीकरण गर्न सकिन्थ्यो ।”
रासस





























प्रतिक्रिया