सिक्किम पूर्ण साक्षर राज्य घोषित

सिक्किम पूर्ण साक्षर राज्य घोषित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालीभाषी बहुल भारतीय राज्य सिक्किम पूर्ण साक्षर राज्य घोषणा भएको छ । मिजोरम, गोवा, त्रिपुरा, हिमाचल र लद्दाखपछि ‘उल्लास’ कार्यक्रमअन्तर्गत पूर्ण साक्षर घोषणा हुने भारतको अर्को राज्य सिक्किम बनेको हो ।

अब सिक्किम सरकारले डिजिटल साक्षरता, जीवनोपयोगी सीप, व्यावसायिक शिक्षा तथा आजीवन सिकाइ कार्यक्रमलाई अगाडि बढाउने जनाएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले)ले बुधबार गान्तोकस्थित मनन केन्द्रमा आयोजित सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहका क्रममा राज्यलाई ‘उल्लास–नव भारत साक्षरता कार्यक्रम’ अन्तर्गत पूर्ण साक्षर राज्य घोषणा गरेका हुन् ।

भारतकी राष्ट्रपति दौपदी मुर्मुको उपस्थितिमा गोलेले राज्यलाई पूर्ण साक्षर घोषित गरेका हुन् । राष्ट्रपति मुर्मु बुधबार तीनदिने सिक्किम भ्रमणमा आएकी हुन् । उनले भारत–चीन सीमावर्ती नाथुला नाकासमेत भ्रमण गर्ने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

राष्ट्रपति मुर्मुले सिक्किम सरकारले हासिल गरेको उपलब्धिलाई ‘गौरवपूर्ण र ऐतिहासिक क्षण’ को संज्ञा दिँदै राज्य सरकार र जनतालाई बधाई दिइन् । उनले शिक्षा र सशक्तीकरणप्रतिको सामूहिक प्रतिबद्धताले सिक्किमलाई नयाँ उचाइमा पुर्‍याएको बताइन् ।

राज्यपाल माथुरले पनि सरकार, शैक्षिक संस्था र नागरिकको संयुक्त प्रयासबाट यो उपलब्धि सम्भव भएको उल्लेख गर्दै साक्षरता समावेशी विकासको आधार भएको बताए । भारत सरकारको शिक्षा मन्त्रालयले तोकेको मापदण्डअनुसार १५ वर्ष वा सोभन्दा माथिका जनसंख्यामध्ये ९५ प्रतिशतभन्दा बढी साक्षर भए राज्यलाई पूर्ण साक्षर मानिन्छ ।

सिक्किम सरकारअन्तर्गत आर्थिक, तथ्यांक, अनुगमन तथा मूल्यांकन निर्देशनालयले सन् २०२२ मा गरेको सर्वेक्षणअनुसार राज्यमा १५ वर्षमाथिको जनसंख्या ५ लाख ३० हजार ४६ रहेको छ । जसमा १५ हजार ३ सय ६१ निरक्षर वयस्क पहिचान गरिएको थियो । तीमध्ये १४ हजार ४ सय ४७ जनाले राष्ट्रिय मुक्त विद्यालय शिक्षा संस्थान अन्तर्गतको आधारभूत साक्षरता तथा संख्यात्मक मूल्यांकन परीक्षा उत्तीर्ण गरी साक्षर प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस आधारमा सिक्किमको साक्षरता दर ९९ दशमलव ८२ प्रतिशत पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । जुन पूर्ण साक्षरताका लागि आवश्यक ९५ प्रतिशतको मापदण्डभन्दा निकै माथि हो ।

‘उल्लास–नव भारत साक्षरता कार्यक्रम’ सिक्किममा १४ नोभेम्बर २०२२ मा सुरु गरिएको थियो । त्यसयता राज्यका सबै ६ जिल्ला, ३४ ब्लक, १ सय ९९ ग्राम पञ्चायत इकाइ, १ हजार १ सय ४९ वडा तथा सबै नगरपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

Skip This
Skip This
Logo