काभा महिला भलिबल च्याम्पियनसिप : नेपाल र इरानबीच पहिलो सेमिफाइनल खेल हुँदैँ

काभा महिला भलिबल च्याम्पियनसिप : नेपाल र इरानबीच पहिलो सेमिफाइनल खेल हुँदैँ

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज बिहीबार नेपाल र इरानबीच पहिलो सेमिफाइनल खेल हुँदैँछ । नेपालको लागि सेमिफाइनल प्रतिस्पर्धा ‘फलामको चिउरा’ साबित हुनेछ ।

आज बिहीबार बेलुका ५ बजे सुरु हुने उक्त सेमिफाइनल भलिबलप्रेमीको लागि चासोको विषय बनिरहेको छ । काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा इरान सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ । इरानको तेज गतिको आक्रमण र कमै गल्ती गर्ने डिफेन्स नेपालको मुख्य चुनौती देखिन्छ । अनि मिडिल ब्लकरको स्तर पनि माथि देखिन्छ ।

यद्यपि, घरेलु कोर्ट र घरेलु समर्थकहरू माझ नेपालको प्रदर्शन सधैँ अब्बल हुँदै आएको छ । नेपालको यही हतियारको सामना गर्न इरानले पनि फरक रणनीति अपनाउनु पर्नेछ । सेमिफाइनलको चुनौती नेपालका मुख्य प्रशिक्षक जगदीश भट्टले राम्ररी बुझेका छन् । लिग चरणको खेलपछि सेमिफाइनलमा जुनसुकै प्रतिद्वन्द्वी भए पनि आफ्नो टोली तयार रहेको प्रशिक्षक भट्टले बताएका थिए ।

प्रतियोगिताको च्याम्पियन टोली एसियन कपमा छनोट हुने भएकोले इरान उपाधि लक्ष्यका साथ नेपाल आएको थियो । प्रतियोगिताको अर्को दाबेदार मानिएको काजकिस्तानलाई लिग चरणमा सोझो सेटमा पराजित गरेपछि इरानले आफ्नो लक्ष्य स्पष्ट पारेको थियो ।

यता, समूह ‘बी’मा रहेको इरानको लिगचरण यात्रा जति दमदार भयो, विपरीत नेपालले संघर्ष गर्दे अगाडि बढिरहेको छ । इरानले आफ्नो प्रतिद्वन्द्वीहरू काजकिस्तान, बंगलादेश र श्रीलंका सबैलाई सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको थियो ।

नेपालले पहिलो खेलमा भारतसँग ३–२ को सेटमा हार व्यहोरेको थियो । त्यसपछि कमब्याक गर्दै किर्गिस्तान र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गर्‍यो । भारतसँगको हारले नेपाल समूह उपविजेता बनेको थियो ।

Logo