विराटनगर । आठ महिनादेखि नेतृत्वविहीन बनेको कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य–सचिवमा सुनसरीका विप्लव घोषलाई नियुक्त गरिएको छ ।
सामाजिक विकास मन्त्री रामप्रसाद महतोले बुधबार घोषलाई बोर्डको सदस्य–सचिवमा नियुक्त गरेका हुन् । घोषसँगै बोर्डका उपाध्यक्ष र सदस्यहरू पनि नियुक्त गरिएका छन् । उपाध्यक्षमा विराटनगरका सन्तोषी श्रेष्ठ र वसन्तराज अर्याल नियुक्त भएका छन् ।
घोष नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्याल अखिल नेपाल फुटबल संघका पूर्वसह–महासचिव हुन् । सदस्यहरूमा इलामका टीकाराम पुरी, उदयपुरका दुर्गाप्रसाद कठेत, ओखलढुंगाका विश्वराज राई, झापाकी बिना बस्नेत र बालाजित राई, सुनसरीकी सुशीला राई र ईश्वरविक्रम शाह तथा तेह्रथुमका केशव भट्टराई रहेका छन् । उनीहरूलाई बुधबार मध्यराती मन्त्री महतोले शपथग्रहण गराएका हुन् ।
बोर्डले पूर्णता पाएसँगै प्रदेशका रोकिएका खेल गतिविधि अघि बढ्ने अपेक्षा गरिएको छ । यसअघि बोर्डका सदस्य–सचिव कृष्ण बस्नेतको कार्यकाल गत भदौ २५ गते सकिएपछि बोर्ड आठ महिनादेखि नेतृत्वविहीन बनेको थियो । सदस्य–सचिव नियुक्त हुन नसक्दा प्रदेशभरका खेल गतिविधि प्रभावित भएका थिए ।
राजनीतिक भागबण्डा र दलगत स्वार्थका कारण बोर्ड नेतृत्वविहीन हुँदा नियमित प्रशासनिक कामदेखि जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिता सञ्चालनसमेत अन्योलमा परेका थिए । स्थानीय तहहरूले विद्यालयस्तरबाट ‘राष्ट्रपति रनिङ शिल्ड’ का लागि खेलाडी छनोट गरिसके पनि बोर्डमा नेतृत्व अभावका कारण जिल्लास्तरीय छनोट प्रक्रिया अघि बढ्न सकेको थिएन । नयाँ नेतृत्व आएसँगै रोकिएका प्रतियोगिता र समग्र खेलकुद गतिविधि पुनः गतिमा फर्किने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया