निःशुल्क खाना खुवाउने कार्य भाइटीकाको भोलिपल्टबाट बन्द हुने

निःशुल्क खाना खुवाउने कार्य भाइटीकाको भोलिपल्टबाट बन्द हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्य भाइटिकाको भोलिपल्टबाट बन्द हुने भएको छ । काठमाडौँ महानगर र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच आज छलफल गरी यस्तो सहमति भएको हो । लकडाउनपछि खुलामञ्चमा भोजन सेवा सञ्चालन गरिरहँदा कोभिड–१९ संक्रमण झन बढ्न सक्ने, स्वास्थ्यवर्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने कुरालाई मध्यनजर गर्दै महानगर र भोजन सेवा गराउँदै आएका संघ–संस्थाले खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्ने सहमति गरेका हुन् ।

सहमति अनुसार खुलामञ्च लगायतका स्थानमा खाना खुवाउँदै आएका संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नु पर्नेछ । ‘खुल्लामञ्च लगायतका सार्वजनिक खुला स्थानमा खाना खुवाउने कार्य बन्द गरी अन्य बन्द संरचना भित्र खाना खुवाउने प्रवन्ध मिलाउने,’ सहमतिपत्रमा भनिएको छ,’ ‘यसका लागि खाना खुवाउँदै आउनु भएका संघ–संस्था वा अभियन्ताहरुले २०७७ को भाइटीकाको दिनसम्म बैकल्पिक व्यवस्था गरी काठमाडौँ महानगरपालिका तथा सम्वद्ध वडाको समन्वयमा आवश्यक व्यवस्था मिलाउने ।’
सहमतिमै भाइटीकाको भोलिपल्टबाट खुलामञ्चको भोजन सेवा पूर्णरुपमा बन्द गर्ने र खुला मञ्चको सट्टा बैकल्पिक स्थान आवश्यक परे त्यस्ता बन्द स्थल पहिचान गरी त्यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाको सहयोग एवं समन्वयमा गर्ने उल्लेख छ । ‘भोजन सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउँदा सम्वद्ध संघ–संस्थाले तथा अभियन्ताहरुले कामपाको समन्वयमा सल्लाह गरी क्षेत्रगत रुपमा स्थान खोजी गरी सेवा सुचारु गर्ने,’ सहमतिमा भनिएको छ,’ ‘जसले गर्दा भिडभाड कम भै कोभिड–१९ को संक्रमण बढ्न नपाओस् ।’

सम्झौतापत्रमा हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एशोसियशन, लायन्स क्लव अफ काठमाडौँ न्यु ग्रिन सिटी, हाम्रो सानो प्रयास, हाम्रो सानो टिम नेपाल, गसिव क्वीन नेपाल, १०० ग्रुप लगयतका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पनि काठमाडौँ महानगर मानवीय सेवाका निरन्तर लागेको स्मरण गरे।

महानगरको आर्थिक सहयोगमा निर्माण हुने मानव सेवा आश्रम भवनको प्रारम्भिक चरणको छलफलमा सम्वोधन गर्दै उनले यस्तो बताए । ‘खान नपाउने, बेरोजगार, अशक्त र असहायको सेवामा कोही छैन भन्नेका लागि स्थानीय सरकार छ भन्ने सन्देश दिन पनि हामी मानवीय सेवाका काममा लागिरहेका छौँ,’ शाक्यले भने, ‘खुलामञ्चमा भोजन सेवा गराउने संघ–संस्थाप्रति हाम्रो कुनै वैरभाव छैन । हामीले खानबाट बञ्चित भएकालाई लखेट्न खोजेका होइनौँ । व्यवस्थित गर्न खोजेका हौँ । हामी व्यवस्थापन गर्छौं ।’

उनले राजनीतिक आग्रह–पुर्वाग्रहका हिसावले भन्दा भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नीतिलाई सबैको नीति बनाएर अघि बढौँ भन्ने महानगरको धारणा रहेको बताए ।

महानगरले लकडाउन अवधिमा मात्रै १ लाख ५० हजार भन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने कार्य गरेको थियो,’ उनले भने, ‘लामो समयको लकडाउनपछि पनि कोरोनाको महामारीबाट मुक्त हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै महानगरका क्षेत्र भित्र बसोबास गरिरहेका काम गर्न सक्ने तथा कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामथ्र्य र सिपको आधारमा रोजगारी दिई महानगरले जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको थालनी गरेको पनि जानकारी गराउन चाहन्छु ।’

Logo