काठमाडौं । मलेसियाको क्वालालम्पुरमा जारी एसियन गेम्स महिला क्रिकेट क्वालिफायरको सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई जितका लागि १२७ रनको मध्यम लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रनको योगफल तयार पार्यो।
नेपालका लागि कप्तान इन्दु बर्माले अविजित रहँदै सर्वाधिक ४६ रनको योगदान दिइन्। उनले ४१ बलको सामना गर्दै ५ चौका प्रहार गरेकी थिइन्। त्यस्तै, विष्फोटक ब्याटिङ गरेकी कविता कुँवरले मात्र १५ बलमा ४ चौका र १ छक्काको मद्दतले महत्त्वपूर्ण ३३ रन जोडिन।
अन्य ब्याटरहरूमा रुबी पोद्दारले १७ र पूजा महतोले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्। ओपनर सम्झना खड्का २ रनमा रनआउट भइन् भने सोनी पाख्रिन ६ र सीता राना मगर ५ रनमा आउट हुन पुगे।
सुरुवाती चरणमा धरमराएको नेपाली इनिङ्सलाई कप्तान इन्दु बर्मा र कविता कुँवरले अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्दै सम्मानजनक स्कोरसम्म पुर्याएका हुन्। नेपालले अन्तिम ५ ओभरमा मात्र ५९ रन जोडेको थियो।
मलेसियाका लागि बलिङतर्फ विनिफ्रेड दुराईसिङ्गमले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन्। त्यस्तै आइस्या एलिसा र माहिरा इज्जती इस्माइलले समान १–१ विकेट हात पारे।































प्रतिक्रिया