काठमाडाैं । युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल आज शनिबार बुडापेस्टको पुस्कास एरिनामा हुँदैछ । करिब ६७ हजार दर्शकअघि राति ९ बजेर ४५ मिनेट जाँदा फाइनल खेल सुरु हुनेछ, पुस्कास एरिनामा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल हुन लागेको हो, जसमा उपाधिका लागि आमनेसामने हुँदैछन् इंग्लिस क्लब आर्सनल र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ।
प्रिमियर लिगको उपाधि जितिसकेको मिकेल अर्टेटाको आर्सनल अहिले आफ्नो इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग ट्रफी उचालेर डबल पूरा गर्ने लक्ष्यमा छ। तर, उनीहरूको अगाडि फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन एक विशाल पहाड बनेर उभिएको छ।
लुइस एनरिकको प्रशिक्षणमा रहेको पीएसजीले गत वर्ष इन्टर मिलानलाई ५–० ले हराउँदै उपाधि जितेको थियो। यदि आज आर्सनललाई पराजित गरेमा पीएसजी सन् १९९२ को नयाँ ढाँचापछि लगातार दुई पटक उपाधि रक्षा गर्ने रियल म्याड्रिड पछिको दोस्रो टोली बन्नेछ ।
अर्कोतर्फ, २२ वर्षपछि प्रिमियर लिग जितेर हौसिएको मिकेल आर्टेटाको आर्सनल पहिलो पटक युरोपेली च्याम्पियन बन्ने दाउमा छ। आर्सनल च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै खेल २२५ खेल खेलेर पनि अहिलेसम्म उपाधि जित्न नसकेको टोली हो। सन् २००६ को फाइनलमा बार्सिलोनासँग हारेको आर्सनलका लागि यो २० वर्षपछिको स्वर्ण अवसर हो। यदि जितेमा, आर्सनल प्रिमियर लिग र च्याम्पियन्स लिग दुवै एकै सिजन जित्ने चौथो अङ्ग्रेजी क्लब बन्नेछ।
यस सिजनको तथ्याङ्क हेर्ने हो भने यो भिडन्त उत्कृष्ट रक्षापङ्क्ति र घातक आक्रमण बीचको लडाइँ जस्तो देखिएको छ। आर्सनलले यस प्रतियोगितामा हालसम्म ९ वटा क्लिन सिट राख्दै आफ्नो रक्षात्मक सुदृढता प्रमाणित गरिसकेको छ। अर्कोतर्फ, लुइस एनरिकको पीएसजीले यस सिजन च्याम्पियन्स लिगमा ४४ गोल गरिसकेको छ, जुन प्रतियोगिताको इतिहासमै दोस्रो धेरै हो। उनीहरूको आक्रमण ओस्मान डेम्बेले र ख्विचा क्वारात्स्खेलिया जस्ता खेलाडीले सम्हालिरहेका छन्।
पीएसजीको रेकर्ड इंग्लिस क्लबहरू विरुद्ध निकै बलियो छ, उनीहरूले पछिल्ला दुई वर्षमा लिभरपुल, चेल्सी र आर्सनललाई नै पनि नकआउट चरणमा पाखा लगाइसकेका छन्। म्यानचेस्टर सिटीले २०२०/२१ मा हराए पछि कुनै पनि इंग्लिस टोलीले पीएसजीलाई नकआउटमा हराउन सकेको छैन।
यता अर्टेटाको रणनीति पीएसजीको आक्रामक धारलाई रोक्दै बलियो रक्षापङ्क्तिका साथ अघि बढ्ने हुनेछ।
आर्सनलका लागि यो सिजन घरेलु लिगमा सानदार रह्यो। म्यानचेस्टर सिटीको दबदबालाई तोड्दै प्रिमियर लिग जितेको आर्सनल अब युरोपमा पनि आफ्नो झण्डा गाड्न चाहन्छ। गत वर्ष सेमिफाइनलमा पीएसजीसँग पराजित भएको बदला लिने अवसर पनि आर्सनललाई छ।
सेमिफाइनलमा आर्सनलले एथलेटिको मड्रिडलाई समग्रमा २–१ को नतिजा निकाल्दै पीएसजीसँगको भेट पक्का गरेको हो ।
आर्सनलको यो सिजनको सफलताको आधार उसको मजबुत रक्षापंक्ति हो। प्रिमियर लिग उपाधि जित्ने क्रममा टोलीले ३८ खेलमा केवल २७ गोल मात्र खाएको थियो। प्रशिक्षक मिकेल आर्टेटाको टोलीले नकआउट चरणभर दुई गोल मात्र बेहोरेको थियो। तर आज आर्सनलको रक्षापङ्तिमा केही समस्या देखिन सक्छ। बेन ह्वाइट घुँडाको चोटका कारण बाहिर छन् भने चोटबाट भर्खरै फर्किएका जुरियन टिम्बरलाई सिधै फाइनलमा उतार्ने कि नउतार्ने भन्नेमा आर्टेटा द्विविधामा छन्। तर ग्याब्रियल मागाल्हेसले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
पीएसजीको म्यान टु म्यान प्रेसिङलाई चिर्नका लागि मिकेल मेरिनो वा काई हाभर्टजलाई फल्स नाइनको रूपमा प्रयोग गर्ने सम्भावना प्रबल छ। मिडफिल्डमा एक अतिरिक्त खेलाडी थप्दा पीएसजीको रक्षापङ्क्ति अलमलमा पर्न सक्छ, जसले आर्सनललाई खेल्ने खाली ठाउँ प्रदान गर्नेछ । यद्यपि, स्वीडिस स्ट्राइकर भिक्टर ग्योकेरेस उत्कृष्ट लयमा रहेकाले उनलाई च्यानलहरूमा दौडाएर पीएसजीका डिफेन्डरहरूलाई व्यस्त राख्ने अर्को विकल्प पनि अर्टेटासँग छ।
फरवार्डमा लिएन्ड्रो ट्रोसार्ड, हाभर्ट्ज, बुकायो साका, मार्टिन जुबिमेन्डी र ग्राबियल जस्ता खेलाडीले दबाबमा नजिक रहेर खेल्न सक्ने भएकाले यो जोखिम लिन सकिन्छ।
यसैगरी आर्सनलका लागि गोल गर्ने सबैभन्दा भरपर्दो माध्यम सेटपिस हुन सक्छ। पीएसजीले यस सिजन खाएका गोलहरूमध्ये उल्लेख्य संख्या कर्नर र फ्री किकबाट भएका छन्। पीएसजीका गोलकिपर मात्भे साफोनोभ क्रसहरू बचाउन केही कमजोर देखिएका छन्, जसको फाइदा आर्सनलले उठाउन सक्छ।
विशेषगरी ब्याक पोस्टमा बल फालेर त्यहाँबाट गोलको अवसर सिर्जना गर्ने अर्टेटा शैली यस फाइनलमा निर्णायक हुन सक्छ। मिडफिल्डमा डेक्लान राइस र युवा खेलाडी माइल्स लुइस स्केलीको जोडी देख्न सकिनेछ।
यता डिफेण्डिङ च्याम्पियन पीएसजी कम आँक्ने टोली भने होइन । च्याम्पियन्स लिगको सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई समग्रमा ६–५ को जित निकाल्दै पीएसजी उपाधि नजिक पुगेको हो।
पीएसजीका लागि खुसीको खबर यो छ कि चोटका कारण बाहिर रहेका अचरफ हाकिमी र बालोन डी ओर विजेता ओस्मान डेम्बेले टोलीको अभ्यासमा फर्किएका छन्। साथै पीएसजीका ख्विचा क्वाराट्सखेलियाको प्रदर्शन पनि मुख्य रहनेछ। क्वाराट्सखेलियाको जादुमयी ड्रिब्लिङ रोक्न आर्सनलका डिफेन्डरहरू निकै सतर्क रहनुपर्नेछ। यस सिजन प्रतियोगितामा गोल र अवसर सिर्जनामा उत्कृष्ट प्रदर्शन गरेका कारण उनी फाइनलका मुख्य खेलाडीमध्ये एक मानिएका छन् ।
यी दुई टोलीबीच अहिलेसम्म ७ पटक प्रतिस्पर्धा भएको छ, जसमा दुवै टोलीले समान २-२ जित हात पारेका छन् भने ३ खेल बराबरीमा सकिएका छन्। पछिल्लो सिजन २०२४, २५ मा मात्रै उनीहरू ३ पटक भिडेका थिए, तर २ पटक पीएसजी नै हाबी भएको थियो ।
जर्मन रेफ्री ड्यानियल सिबर्टले चलाउने यो खेलमा आर्सनलले आफ्नो वर्षौंको प्रतीक्षा समाप्त गर्दै युरोपकै सबैभन्दा प्रतिष्ठित उपाधि उचाल्नेछ, या पीएसजीले आफ्नो आक्रामक फुटबलको शक्ति देखाउँदै उपाधि जोगाउनेछ ? यसको फैसला बुडापेस्टको मैदानले गर्नेछ।





























प्रतिक्रिया