किन भइरहेको छ एक्स्ट्रिम इनर्जी ड्रिंक्सको विरोध ?

किन भइरहेको छ एक्स्ट्रिम इनर्जी ड्रिंक्सको विरोध ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । ‘पानीले पुग्दैन है, एक्सट्रिम नै चाहिन्छ’ यो नारा कतै सुन्नु भएको छ ? पक्कै सुन्नु भएकै होला । यो हो नेपालका सहरदेखि गाउँसम्म फैलाउने एक्स्ट्रिम इनर्जी ड्रिंक्सको विज्ञापन रणनीति । युवा पुस्तामाझ स्टाइल र इन्स्ट्यान्ट इनर्जीको पर्याय बनेका यो पेय पदार्थ सामाजिक सञ्जाल, होर्डिङ बोर्ड, खेलकुद प्रायोजन र सञ्चारमाध्यमको प्रचारप्रसारमा छ्यापछ्याप्ती नै भेटिन्छन् । तर अहिले यसको विरोध पनि उत्तिकै भइरहेको छ ।

नेपालमा एग्रो थाई फूड्स प्रालिले उत्पादन गरेको भनिएको यस पेय पदार्थभित्र के छ ? यो खाँदा के हुन्छ ? स्वास्थ्यमा कस्तो असर गर्छ ?

३३० मिलिलिटरको प्रति बट्टा १४० रुपैयाँ पर्ने यस पेयलाई कम्पनीले निर्माण भएको मितिबाट २४ महिनासम्म प्रयोग गर्न सकिने भनेको छ । प्रत्यक्ष घामबाट टाढा, चिसो र सुख्खा ठाउँमा भण्डार गर्न र सिल तोडिएको बट्टा नकिन्न भनिएको छ । कम्पनीले आफ्ना सामग्रीहरूमा उच्च क्याफिन र भिटामिन रहेको दाबी गर्दै यसलाई गेम चेन्जर उर्जाको रूपमा व्याख्या गरेको छ। तर स्वास्थ्य विज्ञहरूले एक्स्ट्रिम इनर्जी ड्रिंक्सको बढ्दो प्रयोगलाई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा हेर्न थालेका छन्।

यस इनर्जी ड्रिंक्समा उच्च मात्रामा क्याफिन, चिनी तथा अन्य उत्तेजक तत्व मिसाइएका हुन्छन्। यिनले तत्काल केही समयका लागि शरीरमा स्फूर्ति र सतर्कता बढाएजस्तो देखिए पनि दीर्घकालीन रूपमा हृदय, मस्तिष्क, निद्रा प्रणाली तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सको प्याकेटमै उच्च क्याफिन रहेको उल्लेख गरिएको छ । कम्पनीले स्वयं मधुमेहका बिरामी, बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरू र क्याफिनप्रति संवेदनशील व्यक्तिहरूले यसको सेवन नगर्नुपर्ने चेतावनी दिएको छ। तर, यसमा मिसाइएका अन्य ११ प्रकारका तत्वहरू र तिनको सम्मिश्रणले मानव शरीरमा पार्ने नकारात्मक प्रभावबारे भने मौनता साधिन्छ।

अझ यस्तो संवेदनशील जानकारी सर्वसाधारणले बुझ्ने गरी नेपाली भाषामा लेखिनुपर्नेमा बट्टामा अंग्रेजी भाषाको प्रयोग गरिएको छ, जसले सामान्य उपभोक्तालाई गुमराहमा राखेको देखिन्छ र जसका कारण बालबालिका र गर्भवती महिलाहरू समेत यसको सिकार भइरहेका छन्।

विभिन्न ठूला खेलकुद र मिडिया हाउससँग सम्झौता गरेर आफ्नो ब्रान्ड बलियो बनाउन खोजे पनि ललितपुरको पाटन औद्योगिक क्षेत्रमा उत्पादन हुने भनिएको यस पेयको सञ्चालक र आधिकारिक ठेगाना समेत रहस्यमय छ। अझ आश्चर्यको कुरा, बट्टामा दिइएको क्युआर कोड स्क्यान गर्दा कम्पनीको जानकारी आउनुको सट्टा उपभोक्ताको फोन नम्बर जस्ता व्यक्तिगत विवरण मागिन्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार एक्सट्रिममा प्रयोग गरिएका क्याफिन र टोरिनको मिश्रणले मुटुको धड्कन असामान्य बनाउने, रक्तचाप बढाउने र अनिद्रा जस्ता समस्या पैदा गर्छ। प्रति ३३० मिलिलिटरमा करिब १०० मिलिग्राम क्याफिन हुनुले दैनिक २, ३ क्यान पिउने व्यक्तिलाई यसको कडा लत बस्ने र स्नायु प्रणालीमा क्षति पुग्ने जोखिम रहन्छ। त्यस्तै, यसमा प्रयोग गरिएको डेक्सट्रोज र ग्लुकोज फ्रुक्टोज सिरपजस्ता कृत्रिम चिनीको मात्रा अत्यधिक छ।

एकजना वयस्कले एक दिनमा थपिएको चिनी २५–३६ ग्राम भन्दा कम राख्नु राम्रो हुने विश्व स्वास्थ्य संगठन को सिफारिस छ । तर, इनर्जी ड्रिंकमा भएको डेक्सट्रोजले यो सीमा सजिलै नाघ्न सक्छ । यसरी बढी चिनी हुनुले मोटोपन, फ्याट्टी लिभर र टाइप २ मधुमेहको खतरालाई बढावा दिन्छ।

पेय पदार्थलाई आकर्षक देखाउन प्रयोग गरिएका रङहरू झनै घातक देखिएका छन्। यसमा प्रयोग हुने रङहरूलाई अन्तर्राष्ट्रिय अर्बुद रोग अनुसन्धान संस्थाले क्यान्सर उत्पन्न गर्न सक्ने सम्भावित तत्वको सूचीमा राखेको छ । साथै, यसमा मिसाइएको प्रिजर्भेटिभ र सिट्रिक एसिडको रासायनिक प्रतिक्रियाबाट बेन्जिन बन्न सक्छ, जसलाई चिकित्सा विज्ञानले प्रत्यक्ष रूपमा क्यान्सर निम्त्याउने तत्व मानेको छ ।

यति मात्र होइन, अर्को चिन्ताको विषय के छ भने इनर्जी ड्रिंक्सलाई सामान्य पेय पदार्थ वा पानीको विकल्पजस्तो गरी प्रस्तुत गरिँदै आएको छ। तर स्वास्थ्य विज्ञहरूका अनुसार क्याफिनयुक्त पेय पदार्थले शरीरलाई थप निर्जलीकरणतर्फ लैजान सक्छन् र ती कुनै पनि अवस्थामा पानीको विकल्प हुन सक्दैनन्।

नेपाल सरकारले सन् २०१९ मा क्याफिनयुक्त इनर्जी ड्रिंकको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, आयात रोकिए पनि स्वदेशी उत्पादनका नाममा उस्तै प्रकृतिका अझ बढी हानिकारक पेयहरूले बजार ओगटेका छन्। नेपालमा इनर्जी ड्रिंकका लागि कुनै अनिवार्य मापदण्ड तोकिएको छैन। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले साना व्यवसायीलाई अनुगमनको दायरामा ल्याए पनि पहुँचवाला ठूला कम्पनीहरूले जनस्वास्थ्यमा गरिरहेको खेलबाडमा आँखा चिम्लिरहेको आरोप लाग्दै आएको छ।

यस्ता उत्पादनको विज्ञापन, लेबलिङ, स्वास्थ्य चेतावनी र बालबालिकामाझ हुने बिक्रीबारे सरकारी निकायले प्रभावकारी अनुगमन गर्न आवश्यक छ। विज्ञापनको चमकधमकबीच उपभोक्ताले पनि ऊर्जाका नाममा बेचिने पेय पदार्थभित्र वास्तवमा के छ भन्ने बुझेर मात्र सेवन गर्नु आवश्यक देखिन्छ।

इनर्जी ड्रिंक्सले क्षणिक उत्साह दिन सक्छ, तर त्यसको मूल्य भविष्यमा स्वास्थ्यले तिर्नुपर्ने अवस्था नआओस् भन्ने जिम्मेवारी राज्य, उत्पादक कम्पनी र उपभोक्ता तीनै पक्षको हो । अहिले उठिरहेको प्रश्न यही हो- हामी ऊर्जा पिइरहेका छौं कि मन्दविष ?

Skip This
Skip This
Logo