काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्वको प्रयोगलाई रोक्दै वातावरणमैत्री स्रोत, साधन र प्रविधिको उपयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले वातावरण संरक्षण गर्नु सामूहिक जिम्मेवारी भएको र वर्तमानलाई सुरक्षित राख्दै भविष्यलाई उज्ज्वल बनाउन सबैको दृढसङ्कल्प तथा प्रतिबद्धता अपरिहार्य रहेको बताए ।
उनले भनेका छन्, “पछिल्लो समय विश्व जलवायु परिवर्तन, प्रदूषण, जैविक विविधताको क्षयीकरण र फोहरमैला व्यवस्थापनजस्ता गम्भीर सङ्कटको सामना गरिरहेको अवस्था छ, यी चुनौतीबाट विशेषगरी ग्रामीण समुदाय, साना कृषक तथा विपन्न वर्ग बढी प्रभावित छन्, यसबाट उन्मुक्तिका लागि हामी सबैले हातेमालो गर्दै अघि बढ्नु अपरिहार्य छ ।”
उपराष्ट्रपति यादवले वनजङ्गलको फडानी, अव्यवस्थित सहरीकरण र अवैज्ञानिक पूर्वाधार निर्माणले वातावरणलाई गम्भीर सङ्कटमा पारेको भन्दै भावी पुस्ताको सुरक्षित भविष्य निर्माणमा सबै गम्भीर, सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । वृक्षरोपण, वन विस्तार, हरितगृह ग्यास नियन्त्रण, नवीकरणीय ऊर्जाको प्रयोग र वातावरणमैत्री जीवनशैली अपनाउनु हाम्रो साझा दायित्व भएको उनको भनाइ छ ।
शुभकामना सन्देशमा भनिएको छ, “समयलाई फर्काउन सकिँदैन, तर वनजङ्गल विस्तार गर्न, पानीका स्रोत पुनर्जीवित गर्न र माटोको उर्वराशक्ति पुनःस्थापित गर्न सकिन्छ, वातावरण संरक्षण अभियानमा सक्रिय सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विश्व वातावरण दिवसले हामीलाई साझा सङ्कल्प, एकता र प्रतिबद्धतासहित अघि बढ्न प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”
सन् १९७३ देखि संयुक्त राष्ट्रसङ्घ वातावरण कार्यक्रमको नेतृत्वमा मनाइँदै आएको यो दिवस वातावरण संरक्षणका लागि विश्वकै सबैभन्दा महत्त्वपूर्ण अन्तरराष्ट्रिय अभियान हो ।





























प्रतिक्रिया