नेपाली चिया निर्यातमाथि भारतको पुनः अवरोध

नेपाली चिया निर्यातमाथि भारतको पुनः अवरोध

केन्द्रबिन्दु
9
Shares

झापा । तीन साताको अवरोधपछि यही ६ जेठमा खुकुलो बनाएको चिया निर्यातमाथि भारतले पुनः अवरोध सुरु गरेको छ। भारतीय चिया बोर्ड (टी बोर्ड अफ इन्डिया) ले आयातकर्ताको गोदाममै पुगेर चियाको नमुना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाइ छ।

भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टबाट हरेक बोराको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइन सुरु गरिएको उनीहरू बताउँछन्। परीक्षण प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिइएको छ।

यसअघि १८ वैशाखमा भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्‍यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात पुनः सुरु भएको थियो। तर अहिले फेरि गोदाममै पुगेर नमुना परीक्षण गर्न थालिएपछि व्यवसायी अन्योलमा परेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले जनाए।

कोलकाता पुगेका आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना संकलन गरिएको एक साताभन्दा बढी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन। करिब ५० हजार किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको छ।

कोलकाता पुगेका आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना संकलन गरिएको एक साताभन्दा बढी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन। ‘गोदाममै गएर नमुना संकलन गर्न थालेपछि वायरहरू नै चिया किन्न हच्किएका छन्,’ गुप्ताले भने, ‘नेपाली चिया भारतीय व्यापारीले नकिनून् भन्ने बोर्डको नियत प्रस्ट देखिन्छ।’ गुप्ताका अनुसार नेपालबाट गएको चिया गोदाममा पुग्नेबित्तिकै प्रत्येक बोराबाट नमुना संकलन गरेर प्रयोगशाला पठाइन्छ। रिपोर्ट नआएसम्म बिक्री रोक्न भनिएको छ। यही कारण व्यवसायीले नयाँ निर्यातका लागि फाराम नै पेस गर्न छाडेका छन्। परीक्षणको नतिजा मापदण्डअनुसार नआए आफ्नो सामान नष्ट गर्नुपर्ने हुन सक्ने डर उनीहरूमा छ।

यसको असर अहिलेसम्म मुख्यतया अर्थोडक्स चिया निर्यातमा मात्र सीमित छ। किनकि यो सिजनमा सीटीसी चियाको उत्पादन निकै घटिसकेको छ। ‘चिया बगानमा हरियो पत्तीको उपलब्धता कम भएकाले सीटीसी चियाको उत्पादन करिब ५० प्रतिशतले घटेको छ,’ गुप्ताले भने, ‘अर्थोडक्स चिया उत्पादनमा भने असर परेको छैन। भारत निर्यात भइरहेको अधिकांश चिया अर्थोडक्स नै हो।’

यसअघि पनि भारतीय चिया बोर्डले आयातकर्तालाई चिया भारत पुग्नुअघि नै ‘टी काउन्सिल’ पोर्टलमा चिया आउने मिति, गोदामको ठेगाना, कन्टेनर विवरण र प्रोफर्मा इन्भ्वाइससहितको जानकारी बुझाउनुपर्ने व्यवस्था लागू गरेको थियो। त्यसलाई नेपाली व्यवसायीले गैरभन्सार अवरोधका रूपमा व्याख्या गर्दै आएका छन्।

नेपालमा वार्षिक करिब २ करोड ६० लाख किलो चिया उत्पादन हुने नेपाल चिया विकास निगम क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि अधिकृत इन्द्र अधिकारीको भनाइ छ। त्यसमध्ये करिब ९० प्रतिशत अर्थोडक्स चिया निर्यात हुने गरेको छ भने निर्यातको ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर छ।

नेपालको चिया क्षेत्र पहिलेदेखि नै दबाबमा छ। गत आर्थिक वर्षमा लुपर कीराको प्रकोपका कारण चिया उत्पादन २५ देखि ३० प्रतिशतले घटेको थियो। भारतीय चिया बोर्डले गुणस्तर नियन्त्रणलाई मजबुत बनाउन र मिसावट रोक्न भन्दै गत १ मेदेखि लागु हुने गरी नेपालसहित सबै देशबाट आयात हुने चियामा अनिवार्य परीक्षण प्रणाली सुरु गरेको थियो। उक्त कार्यविधि (एसओपी) अन्तर्गत आयात गरिने चियाको प्रत्येक कन्साइनमेन्ट (खेप) को नमुना संकलन र प्रयोगशाला परीक्षण अनिवार्य गरिएको थियो।

भारतीय आयातकर्ताहरूले चिया बोर्डको पोर्टलमार्फत ढुवानीको विस्तृत विवरण बुझाउनुका साथै प्रतिनमुना भारु ११ हजार १ सय २० र लागू हुने जीएसटी शुल्क तिर्नुपर्ने व्यवस्था थियो। इन्स्ट्यान्ट चिया र रेडी–टु–ड्रिंक (पिउनका लागि तयार) चियालाई भने यो नियमबाट छुट दिइएको थियो। यस कदमले नेपालको चिया निर्यातलाई गम्भीर रूपमा प्रभावित गरेपछि काठमाडौं र नयाँ दिल्लीबीच कूटनीतिक पहल भएको थियो।

नेपालले अर्थोडक्स चियाको झन्डै ९० प्रतिशत भारत निर्यात गर्छ, जसले गर्दा नेपाल चिया व्यापारका लागि छिमेकी देश भारतमा पूर्ण रूपमा निर्भर छ। तेस्रो मुलुकका बजारमा निकै सानो हिस्सा मात्र नेपाली चिया पुग्ने गर्छ। नेपालले वार्षिक ७ हजार ८ सय ३८ टन अर्थोडक्स चिया उत्पादन गर्छ। तेस्रो मुलुकमा हुने निर्यात कुल अर्थोडक्स चिया निर्यातको ११.४ प्रतिशत मात्र छ।

Logo