उदयपुर, ५, पुस
तराईका विभिन्न भागसँगै उदयपुर जिल्लामा समेत केही दिन यता देखि चिसो र शीतलहर बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेको छ । अचानक चिसो र शीतलहर बढ्न थालेपछि जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, चौदण्डी नगपालिका क्षेत्रको हँडिया तथा सुन्दरपुर र त्रियुगा नगरपालिकाको जोगीदह क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकले बताएका छन् ।
अचानक चिसो बढेर बिहान १० बजे सम्म पनि हुस्सुका कारण गाउँघर अन्धकार र चिसो बन्न थालेपछि विद्यालय आउने अधिकांश तल्ला कक्षाका साना विद्यार्थी विद्यालय आउन छाडेको जनता उच्चमावि हँडियाका शिक्षक बाबुलाल चौधरीले बताए । यस्तै बिहानभरी पनि शीतलहर र चिसो बढिरहेकाले तल्ला तहका कक्षामा विद्यार्थीको उपस्थिति पनि हुन छाडेको तपेश्वरी आम्बासीका शिक्षिका सुमित्रा पोखरेल बताउँछिन् । विगतका वर्षको तुलनामा यस पटक छिटै (पुस महिना शुरु भएसँगै) चिसो र शीतलहर ह्वात्तै बढ्न थालेका कारण पनि विद्यार्थी लगायत अन्य वृद्धवृद्धामा शीतलहरले असर पारेको त्रियुगा नगरपालिका– १ जोगिदहका नारायण ढकालको भनाइ छ । चिसोको कारण नानीहरु स्कुल नै जान छाडेपछि दिनको १२ बजे घाम नलागे सम्म बच्चाहरू घरभित्रै बस्न थालेको पनि उनले बताए । गत वर्ष पुसको मध्य देखि मात्र जिल्लामा चिसो बढे पनि यस पटक पुस महिना शुरु हुनासाथ शीतलहर शुरु भएको जिल्लावासी बताउँछन् ।
रासस































प्रतिक्रिया